१६ पुस, काठमाडौं । मैत्रिपूर्ण खेलमा स्पेनिस जाइन्ट रियल मडि्रड एसी मिलानसँग पराजित भएको छ । दुबईमा मंगलबार राति भएको इटालियन सिरि ए को सातौं स्थानमा रहेको एसी मिलानले रियललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
ला लिगाको शीर्ष स्थानमा रहेको रियलले सेप्टेरम्बरपछि पहिलो हार व्यहोरेको हो । उसले लगातार २२ खेलमा जित हात पारेको थियो । खेलमा एसी मिलानले २४ औं मिनेटमा जेरेमी मेनेजको गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा स्टफेन एल शारावेले गोल गर्दै अग्रता दोब्बर पारे ।
३५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियललाई खेलमा फर्काउने संकेत दिए । तर, दोस्रो हाफको ४९ औं मिनेटमा शारावेले व्यक्तिगत दोस्रो गोल गरे भने ७३ औं मिनेटमा पाजिनीले गोल गरेपछि एसी मिलान ४-१ ले अघि रहृयो ।
खेलको ८४ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे पनि रियल मडि्रडको हार टार्न सकेनन् ।