काठमाडौं । पछिल्लो समय नेपाली राजनीति नयाँ मोडमा पुगेको छ । विश्व कोरोना संकटसँग लड्दै गर्दा नेपालमा सरकार परिवर्तनको चर्चा चलेको छ । यो बीचमा सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार साँझ ४ बजे बस्न लागेको छ ।

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेपछि रोकिएको थियो ।

सरकारले अध्यादेश जारी गरेसँगै विवादमा परेको नेकपामा प्रधानमन्त्री ओलीको विकल्प खोजी सुरु भएको छ । स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल पक्षको माग रहेको छ । ओलीमाथि सरकार एकलौटी चलाएको र अलोकप्रिय हुँदै गएको आरोप छ ।

प्रधानमन्त्री ओलीले भने कोरोना संक्रमण फैलिइरहेको जस्तो अप्ठ्यारोमा सरकारलाई पार्टी भित्रैबाट असहयोग भएको आरोप लगाउँदै आउँनु भएको छ । उहाँले आफू प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा नदिने बरु जस्तो परिस्थिति आएमा पनि सामना गर्ने अडान अगाडी सार्नुभएको छ ।

प्रधानमन्त्री पक्षधर सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् भने दाहाल–नेपाल पक्षधरले आन्तरिक छलफललाई तीव्र पारेका छन् । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ठोस प्रस्ताव ल्याउनेबारे र स्थायी कमिटी बैठक आह्वान गर्नेबारे छलफल हुने नेकपा स्रोतले बताएको छ ।

सम्बन्धित खबरहरु