काठमाडौं । लकडाउनको मौका छोप्दै कृष्णपुर नगरपालिका– ४ बैलकुण्डी मुक्त कमैया शिविर नजिकै भू–माफियाले खनजोत गरेको जग्गा आज अतिक्रमणमुक्त गरिएको छ । खनजोत गरिएको वनको पाँच बिघा जग्गा अतिक्रमणमुक्त गरिएको हो ।

खनजोत गरिएको जग्गामा बनाइएका संरचनासमेत हटाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताउनुभयो । “गोरुको प्रयोग गरी वनको जग्गामा खनजोत गरिएको पाइएको छ”, उहाँले भन्नुभयो, “खनजोत गर्नेको खोजी गरिरहेका छौँ, खनजोत गरिएको जग्गामा बनाइएका झुपडी र लगाइएका बिरुवासमेत उखेलेर हटाएका छौँ ।” वर्षे खेती गर्न खनजोत गरिएको पाइएकाले खनजोत गर्ने व्यक्तिको पहिचान गरी प्रचलित वन ऐनअन्तर्गत कारवाही गरिने उहाँले बताउनुभयो ।

गत वर्षसमेत सोही क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिएपछि वन कार्यालयको टोलीले अतिक्रमणमुक्त गरेको थियो । पटकपटक अतिक्रमणमा पर्दै आएको जग्गा जोगाउनका लागि वृक्षरोपण गरी तारवार गर्ने योजना वन कार्यालयले अघि सारेको छ ।

उक्त नगरपालिकाको वन क्षेत्र सुकुम्बासी र भूमिहीनका नाममा अतिक्रमणको चपेटामा पर्दै आएको छ । गत वर्ष मात्रै भेटघाटफाँटाको जग्गा सुकुम्बासीका नाममा अतिक्रमणमा परेको थियो । वन कार्यालयले केही स्थानको अतिक्रमण हटाउन सके पनि अझै अधिकांश जग्गा अतिक्रमणमुक्त हुन सकेको छैन ।

काठ तस्करीलगायतमा सामुदायिक वनकै कतिपय पदाधिकारीको संलग्नतासमेत हुने गरेको पाइएको छ । तस्करीको काठ नियन्त्रणमा लिन गएका वन सुरक्षाकर्मीमाथि समेत सामुदायिक वनकै पदाधिकारीले आक्रमणसमेत गरेका थिए ।

जिम्मेवार निकायबाटै वन क्षेत्रमा काठ, वन्यजन्तुको चोरी, सिकारी र वन क्षेत्रको जग्गा अतिक्रमण गरिनु चिन्ताको बिवषय भएको संरक्षणकर्मी दिलबहादुर देउवाले बताउनुभयो । विगतका बर्षहरुमा समेत बैलकुण्डी लगायतका क्षेत्रमा अतिक्रमणकारीहरुले वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गर्ने र वन सुरक्षाकर्मी लगायतको टोली पुगेपछि भाग्ने गरेका उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु