काठमाडौं । बाँकेको नेपालगञ्जमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपिसिआर) मा परीक्षणका क्रममा तिनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जमा भेटिएका सङ्क्रमितमा पाँच महिला र चार पुरुष छन् । यससँगै नेपालगञ्जमा कोराना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । यसअघि शुक्रबार पहिलो पटक एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ फेला परेको थियो । ‘परीक्षण भएका ३० रिपोर्टमध्ये ९ मा पोजेटिभ भेटिएको हो, अरु जाँच गर्दैछौँ’, श्रेष्ठले रासससँग भन्नुभयो, ‘धेरै सङ्ख्यामा रहेकोले रिपोर्ट तयार गर्न समय लागिरहेको छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना फोकसल पर्सन नरेश श्रेष्ठले ६० वर्षिय व्यक्तिबाटै अन्यमा संक्रमण सरेको बताउनुभयो । शुक्रबार कोरोना पुष्टि भएका ती व्यक्ति नेपालगन्ज ५ डिएसपी रोड क्षेत्रका हुन । उनी त्यहाँबाट दैनिक तीन चारपल्ट नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पुग्ने गर्थे । उनी भारतबाट नेपाल फर्किएको स्थानीयले बताएका छन् ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका ६ जना र कार्य क्षेत्रका ९० जनाको स्वाब संकलन गरेर जाँचका लागि भेरी अस्पतालमा पठाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले स्वाब संकलनका लागि संक्रमितलाई ट्रेसिड गरिएको जानकारी दिनुभयो । स्थानीय प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी चोक र एकलैनी क्षेत्रलाई पूर्णरुपमा सिल गरिसकेको छ ।

सङ्क्रमण पुष्टि भएका व्यक्तिको खोजी गरी कोरोना आइसोलेशन अस्पतालमा उपचारका लागि पठाउने तयारी गरिएको छ । उहाँले शनिबार कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ को स्वाब परीक्षणका क्रममा तिनको पोजेटिभ भेटिएकाले अरु पनि भेटिन सक्ने बताउनुभयो ।

शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा पर्ने जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो । सङ्क्रमितका परिवार र नजीकका आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको एकान्तबासमा राखिएको थियो ।

रमजान प्रभावित
नेपालगञ्जका दश व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि मुसलमान धर्मावलम्वीको पवित्र पर्व रमजान प्रभावित भएको छ । एक हप्तादेखि शुरु भएको रमजानका अवसरमा घरमै बसेर कोरोना भाइरस समाप्तिको प्रार्थना गर्दै नमाज पाठ गरिआएका एक धर्मगुरुमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा भय देखिएको नेपालगञ्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले बताउनुभयो । ‘पहिलेदेखि नै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘हिजो एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, रमजान प्रभावित नहुने कुरै भएन ।’

उहाँले त्रास मात्रै गरेर केही नहुने भएकाले यसमा थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी बाहिर ननिस्किन आग्रह गरिएको बताउनुभयो । रोजाको बेला मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहे पनि कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी यस वर्ष रमजानका सबै धार्मिक कार्य घरमै गर्न आग्रह गरिएको धर्मगुरु मौलाना अव्दुल जव्वार मञ्जरीले बताउनुभयो । ‘घरभित्रै रहेर रमजानको कार्यक्रम भइरहेको थियो, नेपालगञ्जमै कोरोना देखिएपछि थप डर त्रास फैलिएको छ’, उहाँले भन्नुभयो । बन्दाबन्दीका कारण घरबाहिर निस्किन नपाइरहेका अवस्थामा अब कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कताका साथ घरभित्रै धार्मिक कार्य गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।

उहाँले रोग कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएकाले समुदायमा रहेका सम्भावित कोरोना सङ्क्रमित र आशङ्कित व्यक्तिको पनि पहिचान गरी स्वास्थ्य परीक्षण गर्नगराउन लाग्नुपर्नेमा जोड दिनुभयो । कोरोना सङ्क्रमण देखिएपछि आज बिहानैदेखि मानिसहरु कोरोना जाँच गराउन लागिरहेका छन् । नेपालगञ्ज–८ महेन्द्रपार्क निवासी मुसलमान अगुवा एवम् अन्तरराष्ट्रिय खेलाडी समशुद्दीन सिद्धिकीले टोलका सबैजनालाई बिहानैदेखि जाँच गराउन थालिएको बताउनुभयो ।

सम्बन्धित खबरहरु