काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्षात्देखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभएको छ । विभागले यअसघि वर्षात्, हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्र्दै आएको छ ।

समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनको भनाइ थियो । “चट्याङबाट हरेक वर्ष एक सयभन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ”, सरोकार भएका निकायसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भन्नुभयो, “समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकामा सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिँचाइ सचिव रवीन्द्रकुमार श्रेष्ठले कोभिड–१९ महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष काम सक्ने प्रयास भइरहेको बताउनुभयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताउनुभयो । “अरू देशमा यो प्रविधि अहिले पनि छ”, उहाँले भन्नुभयो, “अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौँ ।” उहाँले नेपालको चुरे क्षेत्र चट्याङको बढी जोखिममा रहेको उल्लेख गर्नुभयो ।

मन्त्रालयमा आज आयोजित छलफलमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, सिँचाइ सचिव श्रेष्ठ, मौसम विभागका उपमहानिर्देशक कर्माचार्य, सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल र गृह मन्त्रालयका उप–सचिव गणेशविक्रम शाही सहभागी हुनुहुन्थ्यो । रासस

सम्बन्धित खबरहरु