राजन ढुङ्गेल ( दोलखा )
नेपालका ७० लाख भन्दा बढी विद्यार्थीहरु घरमा के गर्दै छन् ? इन्टरनेटको उपयोग गरेर सिक्दै छन् कि कम्प्युटर स्क्रीन अगाडि व्यस्त छन् कि गाउँ घरमा खेती गर्दै छन् वा बुबा-आमाको हेरचाहमा होम टीचिङमा छन । नेपालमा सरदर ५६ % जनताले इन्टरनेटको उपयोग गर्छन । तथ्याङ्क हेर्ने हो भने ८३ % जनता गाउँमा बसोबास गर्छन् , २३ % जनता गरिबीको रेखामुनी रहेका छन । दुर्गम ठाउँमा बस्ने कमजोर आर्थिक अवस्था भएका समुदायमा इन्टरनेटको प्रयोग ज्यादै न्यून छ ।
कतिपय ठाउँमा त विद्युत समेत पुगेको छैन । यसर्थ शिक्षण सिकाइका लागि अहिले कतिपय स्कुलहरुले चलाइरहेको अनलाइन कक्षा भनेको अभिभावकहरुलाई भ्रममा राखेर विद्यार्थी अन्यत्र जानबाट जोगाईराख्नु बाहेक अर्को अर्थमा काम लाग्छ जस्तो मलाई लाग्दैन । सामान्यतया १ दिनको कक्षा ४ घण्टाको हुनुपर्छ र कतिपय ठाउँ यस्ता छन जहाँ मोबाइलको नेटवर्क राम्रोसँग टिप्दैन र डाटा चल्ने त कुरै छोडौ ।
तर घरमै बसेका विद्यार्थीहरुलाई अभिभावकहरुले समाजसेवा गर्न अभिप्रेरित गर्नुपर्छ, । दु:ख र अभावको समयमा कसरी जीवन रक्षा गर्ने भन्ने व्यवहार सिकाउन सक्नु हुन्छ । खेतबारी खनजोत गर्न / गोडमेल गर्न र उत्पादन बढाउन उत्प्रेरीत गर्नु पर्छ । स्वस्थ जीवन जिउने कला सिकाउनुपर्छ । अभिभावकहरुले सामान्य अर्थमा सिकाइ भनेको बिद्यालयको पोसाक भिरेर झोला बोकेर कक्षाकोठा भित्र ठूलो स्वरमा पाठ पढ्नुलाई सम्झन्छन् । तर अभिभावकहरुले सिकाइ जुनसुकै ठाउँमा पनी हुनसक्छ भन्ने कुरा बिर्सन हुँदैन । विभिन्न प्रकारका ज्ञानहरु , विभिन्न व्यक्तिहरुबाट विभिन्न प्रकारले बिद्यार्थीहरुले ग्रहण गरिएका हुन्छन् ।
विद्यार्थीहरुको आफ्नो अन्तर इच्छाले सिकाइ हुन्छ, तर अभिभावकले आफ्ना बच्चाहरुलाई समय दिन जरुरी हुन्छ । पढ-पढ भन्ने बिधिबाट मात्रै बच्चाहरुलाई छोड्दिने हो भने उनीहरुले पढ्दैनन् र सीक्दैनन् । उनिहरुको पढाइमा अभिभावकहरु पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्लग्न हुन जरुरी छ । यो समय अभिभावकहरुको लागि एउटा सुनौलो मौका हो जहाँ विद्यार्थीहरुले अभिभावकहरुको संलग्नतामा केहिकुरा सिकिरहेका हुन्छन् । सामान्यतया यस अघि अभिभावकहरुले विद्यार्थीहरुलाई स्कुल भर्ना गरेर शुल्क तिरेपछि जिम्मेवारी सकियो भन्ने ठान्नु हुन्थ्यो ।
विद्यार्थीहरुले घरमा बसेर जतिपनि कामहरु गरिरहेका छन् केही कुराहरु सिकिरहेका छन् । जस्तै चलचित्र हेर्दा विद्यार्थीहरुले अनुमान लगाउने भाषिक-ज्ञान, विश्लेषण गर्ने क्षमता आदि सिक्न सक्छन् तर अभिभावकको संलग्नता हुन जरुरी छ । विद्यार्थीहरुले प्रकृती, समाज र मानव जीवन र ब्यबहारबाट धेरै कुराहरु सिमिरहेका हुन्छन् । बुबा-आमा हजुरबा -हजुरआमाको जीवन कथा साट्दा पनि विद्यार्थीहरुले धेरै कुरा सिक्छन् । जस्तै: बाच्ने कला, योग , ध्यान , सङ्घर्ष र जीवनपयोगी सीप आदि ।
आमाले भान्सामा खाना बनाउन तरकारी काट्न साथै खानाको पौस्टिकताको जानकारीमूलक कुरा सीकाउन सक्छन् । यो समयमा विद्यार्थीहरुले गीत, संगीत, नृत्य चित्रकला आदि सिक्न सक्छन् । अङ्ग्रेजि नजान्नेले अङ्ग्रेजी चलचित्र हेर्ने अङ्ग्रेजी गीत सुन्ने र कोठामा बसेर आफैंसँग कुराकानी गर्ने आदि गर्न सक्छन् । विद्यार्थीहरुले घरमा बुबाबाट घर कसरी चलाउने भन्ने कुरा सिक्न सक्छन् । छिमेकीका कोही नेता छन् भने गाउँ र देश कसरी चलाउने भन्ने कुरा सिक्न सक्छन् , मोबाइलमा ईन्टरनेटको पहुँच हुनेहरुले विभिन्न शैक्षिक साइटबाट पढ्न सक्छन् ।
तल्लो कक्षाबाट माथिल्लो कक्षामा पढ्नु पर्ने विद्यार्थीहरुले माथिल्लो कक्षामा पढ्ने दाइ-दिदिबाट पुराना किताब मागेर पढ्न सक्छन् । शिक्षकहरुबाट कसरी पढ्ने भन्नेकुरा सोधेर पनि पढ्न सकिन्छ । अत: समग्रमा जिन्दगीलाई सजिलो तरिकाले कसरी चलाउन सकिन्छ भन्ने कलानै शिक्षा हो । जुन कुरा विद्यार्थीहरुले सिकीरहेका छन् । विद्यार्थीहरुले प्रत्येक समय केहि सिकिरहेका छन् जुन उनीहरुलाई भोलिका दीनहरुमा आवश्यक हुनेछ ।