महोत्तरी । महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै सोमबार बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताए ।

 

 

हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताए । पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् । उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् ।

 

लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर आज मिर्मिरे बिहानीमै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ । उनीहरुलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय, प्रशासनसहितसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने वा कहाँ के गर्नेबारे तय गरिने वडाध्यक्ष रायले बताए । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु