न्यूयोर्क, (रासस–एपी) : विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ । तर अमेरिका र युरोपका नेताहरुले कोरोनाभाइरसको खोप तत्काल निर्माण सम्भव नभएपछि जोखिम लिएरै पनि आफ्ना मुलुकमा जारी लकडाउन र प्रतिबन्धहरुमा सहजीकरण गर्न थालेका छन् ।

 

यहीबीच, भारतमा एक दिन ५ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित देखिएका छन् भने १५७ जनाको ज्यान गएको छ । एसियाली मुलुकमै चीनपछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । कोविड–१९ का कारण भारतमा कूल मृतकको संख्या तीन हजार नाघेको छ । चीनमा सोमबार सात जना नयाँ संक्रमित देखिएका छन् र पछिल्लो पटक समस्या देखिएको जिलिन प्रान्तमा सामाजिक दूरीका नियमहरुमा अझ कडाई गरिएको छ ।

 

कोरोनाभाइरसको खासै समस्या नदेखिएका बेइजिङ समेतका चीनका अन्य भागमा प्रतिबन्धहरु खुकुलो बनाइनेछ । स्थानीय प्रशासनले प्रतिबन्धहरु खुकुलो बनाएसँगै मानिसहरु मास्क नलगाई सडकमा देखिन थालेका छन् । जापानको प्रधानमन्त्री कार्यालयले सोमबार मुलुकको यथार्थ कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ३.४ प्रतिशत रहने पूर्वानुमान गरेको छ । कार्यालयले आगामी दिनमा जिडिपी अरु न्यून हुने जनाएको छ । जापानको व्यापार चीन र संयुक्तराज्य अमेरिकामाथि बढी नै निर्भर भएकाले पनि अर्थतन्त्र खुम्चिएको हो ।

 

निकै समस्यामा परेको इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले सोमबार मुलुकका रेस्टुराँ, बार र बिचहरु खुला गर्ने बताउनुभएको छ । इटालीमा यी सेवा खुला गर्न केही हप्ता लाग्ने बताइए पनि प्रधानमन्त्री कोन्टेले परिस्थितिमा नाटकीय सुधार आएको बताउँदै तोकिएको समयावधि अघि नै यी सेवा खुला गर्न आदेश दिनु भएको हो । प्रधानमन्त्री कोन्टेले “हामीले यो जोखिमको सामना गर्नु परिरहेको छ, हामीलाई यसलाई स्वीकार्नै पर्दछ, अन्यथा हामीले कहिल्यै पनि जनजीवन खुला गर्न सक्दैनौं” भन्नुभएको छ ।

 

विश्वका अरु मुलुकका सरकारहरु सहित अमेरिकाका धेरै राज्यले कोरोनाभाइरसका कारण जारी लकडाउनमा सहजीकरण गर्न र जनजीवन खुला गर्न संघर्षरत छन् । संयुक्तराज्य अमेरिकाका धेरै राज्यका बारहरु, रेस्टुराँ, बिचहरुमा मानिसको ठूलो भिडभाड देखिएका छन् । उनीहरुले राज्यहरुले जारी गरेका सामाजिक दूरी समेतका नियमहरु बेवास्ता गरेको पाइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरसको खोप सम्भवतः कहिल्यै बनाउन नसकिने आइतबार बताउनुभएको छ । विश्वभर खोप बनाउन प्रयास भइरहे पनि यो सम्भव देखिन्न, प्रधानमन्त्री जोन्सनले बताउनुभयो ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्र र जनजीवनलाई जतिसक्दो चाँडो सहज तुल्याइने बताउनुभएको छ । उहाँले एनबिसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भन्नुभयो, “हामी खोप बनाउने, उपचार गर्नेतर्फ विचार गरिरहेकै छौं, तर यी कुराहरु निकै जटिल छन् ।” राष्ट्रपति ट्रम्पका वरिष्ट आर्थिक सल्लाहकार पिटर नाभारोले कोरोनाभाइरस महामारीका बारेमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पर्याप्त अध्ययन गर्न नसकेको बताउनुभएको छ ।

 

अमेरिकामा मात्र ३ करोड ६० लाख मानिस बेरोजगार भइसकेका छन् । व्यवसायहरु बन्द भएका कारण ठूलो क्षति व्यहोर्न बाध्य धेरै अमेरिकी राज्यहरुले घरमै बस्ने र अरु प्रतिबन्धहरु हटाएका छन् । राज्यहरुले केही विशेष किसिमका व्यवसाय खुला गर्न दिइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार झण्डै ४८ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् भने तीन लाख १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

 

अमेरिकामा मात्र ८९ हजारभन्दा बढीको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा १ लाख ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ । अधिकांश अवस्थामा मानिसमा कोरोनाभाइरसका सामान्य लक्षणहरु देखिन्छन् । तर ज्येष्ठ नागरिक र स्वास्थ्य समस्या रहेका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ । यस्ता व्यक्तिको मृत्यु पनि हुने गर्दछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु