कृष्ण न्यौपाने, तनहुँ । स्वर्ग जस्तै सुन्दर बन्दीपुरमा अब केबलकारबाट सरर घुम्न पाइने आशा बढेको छ । बन्दाबन्दीका कारण रोकिएको केबलकार निर्माणको काम शुरु भएसँगै उत्साह थपिएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माणाधीन केबलकारको काम मङ्गलबारदेखि शुरु भएको हो ।स्थानीय मजदुर प्रयोग गरी केबलकार निर्माणको काम शुरु गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दाबन्दीका कारण न्यून मजदुर प्रयोग गरेर केबलकार निर्माणको काम शुरु गरिएको छ । शर्माका अनुसार हाल १२ जना मात्रै मजदुर प्रयोग गरिएको छ । “केबलकार निर्माणमा काम गरिरहेका मजदुरलाई बन्दाबन्दी भएपछि घर पठाएका कारण काम ठप्प भएको थियो, अहिले स्थानीय मजदुर प्रयोग गरेर काम सञ्चालन गरेका छौँ”, शर्माले भन्नुभयो ।

 

बाह्रजनामध्ये पाँच मजदुर यस अगाडिदेखि नै केबलकार निर्माणमा खटिएका मजदुर हुन् । मङ्गलबारदेखि बटम स्टेशनमा ढलानको कामलाई निरन्तरता दिइएको छ । शर्माका अनुसार निर्माण सामग्री पर्याप्त मात्रामा रहेकाले बन्दाबन्दीकै अवधिमा पनि कामलाई निरन्तरता दिइनेछ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी शुरु भएपछि घर गएका मजदुर फर्कन नसकेपछि केबलकार परियोजनाको काम प्रभावित भएको थियो । बन्दाबन्दी अगाडि केबलकार परियोजनामा १७० मजदुर आयोजनास्थलमा खटिएका थिए ।

 

“मजदुरलाई फिर्ता बोलाएर काममा लगाउन पनि अहिलेको अवस्थामा सम्भव रहेन, त्यही भएर स्थानीय मजदुरलाई नै प्रयोग गरी सुरक्षितरुपमा काम शुरु गरेका हौँ”, शर्माले भन्नुभयो । बटम स्टेशनमा निर्माण भइरहेको भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ । केबलकार परियोजनाअन्तर्गत गत चैत ८ गतेदेखि १३ तलाको होटलसमेत निर्माण शुरु भएको छ । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माण शुरु भएको होटलको बेसमा ढलान गरिएपछि काम स्थगित गरिएको थियो । उक्त होटलको लागत रु ८० करोड अनुमान गरिएको छ ।

 

“बन्दाबन्दीका कारण तोकिएकै मितिमा आयोजनाका सम्पूर्ण काम सम्पन्न हुने अवस्था रहेन”,उहाँले भन्नुभयो, “आयोजनाको निर्माण सम्पन्न अवधि केही समय पछाडि धकेलिन्छ ।” चारतारे होटल निर्माणको जिम्मा काठमाडौँस्थित चन्द्र निर्माण सेवाले पाएको छ । उक्त होटल निर्माणका लागि नेपाल एसबिआई बैंकसँग ऋण सम्झौता गरिएको छ । उक्त भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने कम्पनीले जनाएको छ ।

 

 

केबुलकार पनि आगामी दशैँभित्र सञ्चालनमा ल्याउने गरी काम भए पनि बन्दाबन्दीले काममा असर पुगेको छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । हालसम्म केबलकार परियोजनाको काम ३५ प्रतिशत सकिएको छ । शर्माका अनुसार केबलकारको टावरको खाल्टा खन्ने र पिल्लरको काम सकिएको छ । बटम स्टेशनमा केबलकारको खण्ड निर्माण सम्पन्न भएको छ ।

 

केबलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सल्ट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पञ्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन् ।

 

प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

 

कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाखबराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जना वारपार गर्न सक्ने छन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

 

तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु