जनकपुरधाम । देशमा अब भयावह अवस्था आउँन थालिसकेको छ । संक्रमण तिब्र गतिमा फैलिरहेका अधिकांश स्थानमा बिरामी राख्ने बेडको समस्या देखिन थालेको छ । यही समस्या सर्लाहीमापनि देखिएको छ । त्यहाँको गोडैता नगरपालिकामा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।

 

शुक्रबार १४ जना संक्रमित देखापरेकोमा शनिबार थप १२ जना संक्रमित भेटिएका हुन् । यी २६ जना नै एक साताअघि भारतबाट आएका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनीहरु सीमा नाकाबाट लुकेर छिरेको पाइएपछि क्वारेन्टाइनमा भर्ना गरिएको थियो ।

शनिबार सर्लाहीको कविलासी नगरपालिकामा पनि १ जना पुरुष संक्रमित देखिएका छन् । यी पुरुष पनि भारतबाट आएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । यी दुई स्थानीय तहसँगै सर्लाहीको ६ स्थानीय तहमा कोरोना संक्रमित देखापरिसकेका छन् । बागमती नगरपालिका ९ का ३४ बर्षीय पुरुष, हरिवन नगरपालिकाको नयाँ रोड बस्ने ३१ बर्षीय पुरुष, धनकौल गाउँपालिकाका १४ बर्षीय बालक, हरिपुर्वा नगरपालिका ३ धनकौल पूर्वका ४५ बर्षीय पुरुष र रामनगर गाउँपालिकाका १८ वर्षीया युवती र एक जना पुरुषमा कोरोना संक्रमण भइसकेको छ ।

 

हरिवन नगरपालिकामा फेला परेका पुरुष उदयपुर जिल्ला निवासी हुन् भने बागमती नगरपालिका र रामनगर गाउँपालिकाकी १८ बर्षीया युवती काठमाडौंमै बस्दै आएका छन् । सर्लाहीमा कुल संक्रमितको संख्या ३३ पुगेको छ । यसमध्ये दुई जना काठमाडौंमै बस्दै आए पनि बाँकी यहींका छन् ।

 

आइसोलेसनको समस्या

सर्लाहीमा लगातार संक्रमित फेला पर्न थालेपछि आइसोलेसनको समस्या भएको छ । शनिबार बिहान १३ जना संक्रमित फेला परेपछि उनीहरुलाई कुन ठाउँको आइसोलेसनमा राख्ने भन्ने बिषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

शनिबार बिहान फेला परेका बाहेक यसअघिका संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरधाम र नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा राखिएको छ । तर, अब यी दुबै अस्पतालमा बेड खाली नभएको सूचना आएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । उनले यी संक्रमितलाई राख्न जिल्लामै आइसोलेसन बनाउने तयारी भइरहेको बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु