काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका त्यहाँ विविध कारणले मृत्यु भएका १४९ जना भन्दा बढी नेपाली कामदारको लाश विदेशमै अलपत्र परेको खबर आएको छ । आफन्तको मृत्यु भएर पनि लाश नआएपछि मृतकका परिवार थप पीडामा छन् । विश्वव्यापी कोरोना महामारीका कारण देशमा बन्दाबन्दीमा छ । अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ ।

यस्तो बेला नेपाल र्फकन रोइकराइ गरिरहेका श्रमिक त फर्कन पाएका छैनन् भने विदेशमा पसिना बगाउँदा–बगाउँदै मृत्युवरण गर्न पुगेकाहरूको आफ्नै भूमिमा सद्गतको मौका पाएका छैनन् । नेपालमा दैनिक दुई श्रमिकको लाश भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ । र पनि, १४९ भन्दा बढी रेमिट्यान्सकर्मीले स्वदेशमै आफ्नो अन्तिम संस्कार गर्ने सौभाग्य पाउन सकेका छैनन् । नेपाल सरकारले तिनको अस्तु मातृभूमिमा विसर्जन गर्ने प्रबन्ध गर्न सकेको छैन ।

यो अवधिमा कुल २०७ जनको लाश व्यवस्थापन गर्नुपर्नेमध्ये ५८ जनको लाश विदेशमै अन्तिम संस्कार गरिएको छ । १४९ जना मृत कामदारको परिवारले भने दाहसंस्कार नेपालमै ल्याएर गर्ने इच्छा व्यक्त गरेका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार, अहिले साउदी अरब र मलेसियामा ४२–४२ जना नेपालीका लाश अलपत्र छन् । त्यस्तै, कतारमा ३५ जना, यूएईमा १४ जना र कुवेतमा ११ जना नेपालीको लाश थन्किएका छन् । बहराइनमा २ तथा टर्की र ओमानमा एक–एक जना नेपालीको लाश अलपत्र रहेको बोर्डको सचिवालयले जनाएको छ ।

अन्य मुलुकमा पनि एउटा लाश अलपत्र छ । लकडाउन लम्बिँदै जाँदा ती लाश कहिले नेपाल आइपुग्छन् भन्ने स्पष्ट छैन । स्वयम् नेपाल सरकारले उनीहरूको अन्तिम संस्कार उतै गर्न सम्बन्धित परिवारहरूलाई प्रेरित गरिरहेको छ । यो अवधिमा अनुमति लिएर ५८ जना मृत श्रमिकको विदेशमै दाहसंस्कार गरिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । सरकारले त्यसरी विदेशमै दाहसंस्कार गर्न सहमति दिने परिवारलाई ५० हजार रुपैयाँ दिने गरी प्रोत्साहनको नीति नै ल्याएको छ ।

यूएईमा मृत्यु भएका ३२ जना कामदारको परिवारले उतै दाहसंस्कार कै लागि सहमति दिएका छन् । त्यसैगरी साउदीमा ७, कतारमा ६, दक्षिण कोरियामा ३, मलेसियामा २, बहराइन, सेसेल्स र जोर्डमा १–१ जना कामदारको अन्त्येष्टि सम्बन्धित देशमै गरिएको छ । अन्य मुलुकहरुमा ५ नेपालीको पार्थिव शरीर उतै अन्तिम संस्कार गरिएको छ । कोरोनाबाट मृत्यु भएकाहरुको लाश नेपाल ल्याउन पाइँदैन ।

कोरोनाबाट मृत्यु भएकाबाहेकको लाश भने परिवारको सहमतिबिना विदेशमा दाहसंस्कार गर्न पाइँदैन । बोर्डको विवरणअनुसार अहिलेसम्म रोजगारीका लागि विदेश गएका ११ जनाको मृत्यु कोरोनाबाट भएको तथ्यांक छ । यूएईमा ५ जना, साउदीमा ३ जना, कतार र टर्कीमा एक–एक जनाको कोरोनाबाट मृत्यु भएको बोर्डले जनाएको छ । अनलाईन खबरको सहयोगमा

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु