काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरुका लागि अत्यन्तै महत्वपुर्ण जानकारी साझा गरेको छ ।

त्रिवि प्राज्ञिक परिषदले स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि शोधपत्रको मौखिक परीक्षा (भाइभा) अनलाइनबाट लिने निर्णय गरेको छ ।

उक्त निर्णय तत्काल लागू हुने त्रिवि शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसालले जानकारी दिनुभयो ।

शिक्षाध्यक्ष भुसालले भन्नुभयो, ‘शोधार्थीले शोधका सबै प्रक्रिया पुर्‍याएर सम्बन्धित क्याम्पस, विभाग, डिन कार्यालयमा शोधपत्र बुझाइसकेका छन् । कोभिड–१९ कारण जारी लकडाउनले विद्यार्थी उपस्थित हुन नसक्ने भएकाले भर्चुअल भाइभा लिन सक्ने निर्णय गरेका छौं ।’

उक्त निर्णय सबै संकाय तथा अध्ययन संस्थाको डिन कार्यालय, विभागहरूमा पठाइएको छ ।

लकडाउन अवधिमा त्रिवि अन्तर्गतका क्याम्पस, कलेज, केन्द्रीय विभाग तथा डिन कार्यालयहरू अन्तर्गत सञ्चालनमा रहेका स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहको थेसिस लेखन कार्यको मौखिक परीक्षा अनलाइनबाट सञ्चालन गर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

अर्को तिर विद्यावारिधि उपाधिका निम्ति केही फरक प्रक्रिया अपनाइने जनाइएको छ ।

 

सम्बन्धित खबरहरु