काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=SzBXyl6VONk&feature=youtu.be

कोरोना जोखिम हुन नदिन बाजुरामा उच्च सतर्कता
कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ गरी सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले जारी गरेको बन्दाबन्दीलाई जिल्लाका सबै नागरिकले पालना गरिदिन आग्रह गर्दछु । ” जोखिम हुन नदिन छिमेकी जिल्ला अछाम, बझाङ, कालीकोट, मुगु र हुम्लाका नाकाहरुबाट आवत जावतसमेत पूर्णरुपमा बन्द गर्न लागिएकोे उहाँले जानकारी दिनुभयो ।

भारतबाट फर्किइ आइसोलेशनमा राखिएकी बूढीगङ्गा नगरपालिका–१ का दुई वर्षीया बालिकाको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार मृत्यु भएको थियो । मृतकसहित उनका आमा र बुवा यही जेठ १३ गते कैलालीको गौरीफण्टा सीमानाका हुँदै भित्रिएका थिए । बालिकाका बुवालाई भने कोरोना नेगेटिभ देखिएको छ । कोरोनाको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा पहिलो मृत्यु भएपछि स्थानीयवासीमा सन्त्रास देखिएको छ ।

बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले बाहिरबाट नगरमा भित्रिनेको आवागमनमा तथा बजारमा जथाभावी हिँडडुल गर्नमा समेत रोक लगाउन लागिएको जानकारी दिनुभयो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा रोगको रोकथामका लागि थप सतर्कता अपनाउने बारेमा छलफल गरिएको थियो ।

स्वास्थ्य सामग्रीको अभाव

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका शङ्कास्पदको स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने किटलगायतका सामग्री पर्याप्त नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीन हजारको सङ्ख्यामा नागरिक भित्रिएको जनाइएको छ । पिसिआर जाँचका लागि भिटिएमलगायतका स्वास्थ्य सामग्री पर्याप्त नहुँदा समयमै सबैको स्वास्थ्य जाँच गर्नमा कठिनाइ भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टिनमा बसेकाको स्वास्थ्य जाँचका लागि चाहिने स्वास्थ्य सामग्री अपुग भएको छ ।”

क्वारेन्टिन अव्यवस्थित र असुरक्षित हुँदा कोरोनाको जोखिम बढेको क्वारेन्टिनमा बसेका नागरिकले बताएका छन् । “स्वास्थ्यको अवस्था समान्य रहेको प्रमाणसहित भारतबाट आफूहरु फर्किएका थियौँ, आफ्नै देशको क्वारेन्टिनको बसाइले सङ्क्रमित हुने डर लागेको छ ।” डोटीको बुडरस्थित एक विद्यालयको क्वारेन्टिनमा बसेका देव विकले भन्नुभयो । “८० भन्दा बढी व्यक्तिका लागि दुईवटा मात्रै शौचालय हुँदा शौच गर्न जानेले लामो समयसम्म लाइनमा बस्नु परेको छ, खानेपानीको धारा एउटा मात्रै हुँदा थप समस्या भइरहेको छ ।” सोही क्वारेन्टिनमा बसेका पदमसिंह विकले टेलिफोनमा भन्नुभयो ।

पछिल्लो दुई हप्तायता भारतबाट फर्किने नेपाली बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा व्यवस्था गरिएका क्वारेन्टिन पनि भरिभराउ हुन पुगेका छन् । प्रदेशसभा सदस्य पूर्णा जोशीले डोटी जिल्लामा मात्रै केही दिनयता आठ हजार नागरिक भारतबाट भित्रिँदा क्वारेन्टिन भरिभराउ भएको बताउनुभयो । “नागरिक आउने क्रम जारी रहँदा क्वारेन्टिन भरिएका छन्, डोटी जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने उहाँले भन्नुभयो, क्वारेन्टिनको बसाइ सुरक्षित बनाउन र रोगको सङ्क्रमण थप फैलिन नदिनका लागि समयमै उहाँहरुको स्वास्थ्य जाँचको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ ।”

कैलालीको गौरीफण्टा सीमानाका हुँदै स्वदेश फर्किने नेपालीको नाकामा केही दिनदेखि भीड लाग्ने गरेको छ । फर्किनेलाई स्थानीय तह र प्रदेश सरकारको समन्वयमा सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको छ । जेठ महिनाको गत दुई हप्तायता गौरीफण्टा नाका हुँदै ठूलो सङ्ख्याका नेपाली स्वदेश फर्किएका छन् । दैनिकजसो नाकाबाट फर्किनेको भीड लाग्न थालेपछि उनीहरुलाई सीमाबाट उद्धार गरी सम्बन्धित ठाउँमा पठाउन प्रहरी र अन्य कर्मचारीलाई सकस भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा भारतलगायतका मुलुकबाट फर्किनेमध्ये अधिकांश व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेको छ ।

क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलका अनुसार जेठ १८ गतेसम्म आरडिटी र पिसिआर दुवै पद्धतिबाट २८ हजार ६०२ जनाको नमूना सङ्कलन गरिएकामा २७ हजार ९८६ को नमूना जाँच गरिएको छ । जाँच गरिएकामध्ये २७ हजार ८८७ जनाको नमूना नेगेटिभ आएको छ । २६ जनाको कोरोना पोजेटिभ देखिएको छ । ६१६को नमूनाको नतिजा आउन बाँकी छ । सङ्क्रमितमध्ये पाँचजना उपचारपछि फर्किसक्नुभएको छ । प्रदेशमा कोरोना सङ्क्रमणको पुष्टि भएका २६ जनाको सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु