काठमाडौं । सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका आइसोलेसनकक्ष भरिभराउ हुन थालेपछि विकल्पको खोजी हुन थालेको हो । भारतबाट आएकामा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि थप आइसोलेसन वार्ड बनाउन जिल्ला कमाण्ड पोष्टसहित सरोकारवाला जुटेको जिल्ला कमाण्ड पोष्ट बागलुङका संयोजक गौलोचन सैँजूले बताउनुभयो । सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानको खोजी थालिएको हो ।

“हामी तयार रहनुपर्छ भन्ने हो सम्भावित ठाउँका विषयमा छलफल चलेको छ”, सैँजूले भन्नुभयो, “सदरमुकाम बाहिरका स्थानका विषयमा समेत सम्बन्धित स्थानीय सरकारसँग छलफल थालेका छौँ ।” यसअघि सदरमुकाममा रहेको धवलागिरि अस्पातलमा १२ श्यया, सदरमुकाममै रहेका निलगिरि अस्पताल, सफल पोली क्लिनिक र गलकोटमा रहेको आरोग्य अस्पतालमा गरी चार श्ययाको आइसोलेसन तयार गरिएको थियो । अहिले धवलागिरि अस्पतालमा एक शङ्कास्पदसहित सात जनाको आइसोलेसनमै उपचार हुँदैछ भने अरु तयार रहेका आइसोलेसन बाँकी छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

जिल्ला कमाण्ड पोष्ट र बागलुङ नगरपालिकाले धवलागिरि बहुमुखी क्याम्पसको भवन मङ्गलबार अवलोकन गरेका छन् । अस्पताल नजिक रहेको भवन उपयुक्त रहेकाले थप ५० श्ययाको आइसोलेसन गर्ने गरी तयारी थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “क्वारेन्टिनमा रहेका धेरै जनाको परीक्षणका लागि स्वाब पठाइएको छ, अहिलेसम्मको अवस्था हेर्दा भारतबाट आएकामा नतिजा पोजेटिभ आइरहेका छन्”, पौडेलले भन्नुभयो, “झण्डै २०० को नजिता आउन बाँकी छ, स्वाब लिन बाँकी रहेकाको पनि लिनु छ, यदि पोजेटिभ आए राख्ने उपचार गर्ने ठाउँको जोहो त गर्नै प¥यो ।”

उहाँले ५० जनासम्मका लागि धवलागिरि बहुमुखी क्याम्पसमा र बाँकी जिल्लाका अन्य स्थानमा समेत आइसोलेसन विस्तार गर्नुपर्ने बताउनुभयो । पौडेलका अनुसार कुश्मीशेरा, गलकोट, बुर्तिवाङ, खर्वाङलगायत स्थानमा आइसोलेसन बनाउन जिल्ला तहमा छलफल शुरु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय भारतबाट आएका र अन्य केही गरी ३२७ को स्वाब प्रादेशिक प्रयोगशालामा परीक्षणका क्रममा छ । मङ्गलबार मात्रै सङ्कलन भएका ७७ जनाको स्वाब बुधबार प्रयोगशाला पुग्नेछन् ।

उनीहरुमध्ये अधिकांश भारतबाट आएर स्थानीय तहको क्वारेन्टिनमा पाँच दिन समय बिताएका हुन् । “सङ्क्रमितको सङ्ख्या धेरै भएको मुलुकबाट आएकाले सम्भावना धेरै रहन्छ”, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भन्नुभयोे, “स्थानीय तहको क्वारेन्टिनमा एक हजार ३४१ जना हुनुहुन्छ ।” छिटफुट मात्रै सङ्क्रमण देखापरे पनि तत्काल उपचार थाल्न आइसोलेसनको अभाव रहेकाले विकल्प खोज्न थालिएको हो ।

सम्बन्धित खबरहरु