एजेन्सी । दुनियामा को मानिस होला जसलाई स्वर्ग पुग्ने चाहना नहोला ? तर स्वर्गको अनुभव गर्न चाहने कोहीपनि मानिसलाई मर्ने इच्छा चाहीँ हुँदैन । अर्थात् जिउँदै स्वर्ग पुग्न पाए हुन्थ्यो भन्ने कल्पना हुन्छ सबैको । तर नमरी स्वर्ग देखिन्न भन्ने उखान अनुसार जिउँदै स्वर्ग पुग्न नसकिने यथार्थले मन अमिलो बनाउँछ ।

तर दुखी हुने कारण छैन । किनकी जिउँदै स्वर्ग जाने ढोका चीनमा पत्ता लागेको छ । उक्त स्वर्गको ढोकामा पुग्नका लागि ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ । वास्तवमा चीनमा एउटा पहाडमा झण्डै ५ हजार फिटको उचाइमा एक गुफा छ । जुन दुनियाको सबैभन्दा अग्लोे गुफा हो । उक्त गुफालाई स्वर्गको ढोका पनि भनिन्छ ।

सन् २५३ मा पहाडको केही भाग खसेपछि उक्त गुफाको निर्माण भएको बताइन्छ । यो गुफाको लम्बाइ १९६ फिट तथा उचाई ४३१ फिट तथा चौडाई १८७ फिट छ । पहाडको धेरै उचाइमा रहेका कारण यो गुफा प्रायः बादलले ढाकिएको हुन्छ । सोही कारण पनि यसलाई स्वर्गको ढोका भनिन्छ । उक्त गुफामा जानका लागि केवल कार चढ्नुपर्छ ।

दुनियाको सबैभन्दा लामो तथा सबैभन्दा उचाइमा रहेको उक्त केवल कारको लम्बाई २४ हजार ४५९ फिट छ । यो केबलकार गिनिज बुकमा दर्ज छ । केबलकार तथा त्यसपछि थोरै सडकमार्गबाट ओर्लिसकेपछि गुफासम्म पुग्नका लागि ९ सय ९९ वटा सिँढी उक्लिनुपर्छ । ताओ दर्शनका अनुसार ९९९ सिँढी सर्वोच्च नम्बर हो र सम्राटको प्रतिक हो ।

बिसौँ शताब्दीमा तियानमेन पहाडमा एक झरना पनि थियो जुन केवल १५ मिनेटका लागि मात्र देखा पर्दथ्यो र त्यसपछि दिनभरका लागि हराउँथ्यो । झरनाको पानी १५ सय फिटबाट सिधै तल र्झदथ्यो ।

तर अहिले उक्त झरनाको नामोनिसान छैन । स्वर्गको ढोका तथा यस्तो अद्भुत झरनाको इतिहास रहेको उक्त पहाडमा ठूलो परिमाणमा खजाना लुकाइएको विश्वास गरिन्छ । खजाना खोज्ने कोसिस धेरैले गरे तर कसैले पनि फेला पार्न सकेका छैनन् अहिलेसम्म ।

सम्बन्धित खबरहरु