काठमाडौं । महानगरीय प्रहरी बृत्त दरबारमार्गले सोमबार राति जुवा खेल्दाखेल्दै पक्राउ गरेका अशोककुमार अग्रवाल पश्चिम अफ्रिकी मुलुक गिनीका अवैतनिक बाणिज्य दूत हुन् । नेपालसँग कुनै पनि ब्यापारिक सम्बन्ध नभएको गिनीले नेपालमा अबैतनिक दूत राखिरहनुको कुनै औचित्य देखिंदैन । तर अग्रवालले त्यही गिनीको अवैतनिक दूतको रुपमा कूटनीतिक नम्बर प्लेटको गाडीदेखि विमानस्थलमा भीआइपी सम्मान लिने गरेका छन् । नेपालमा कोरोना संक्रमणलाई मध्यनजर गरी सरकारले लकडाउन घोषणा गरेको मौकाछोपी २०७६ चैत २५ मा ज्वरो नाप्ने थर्मल गन कालोबजारी गर्दागर्दै किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल पक्राउ परेका थिए । उनी कूटनीतिक नम्बर प्लेटको गाडीमा थर्मलगन कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए ।

 

यी दुई प्रतिनिधि घटना हुन्, अवैतनिक दूतको रुपमा राज्यले दिएको कूटनीतिक सुविधा दुरुपयोगका अनेकौँ घटना छन् । यसरी अवैतनिक दूतलाई कूटनीतिक उन्मुक्ति दिने देश नेपालमात्र हो । कूटनीतिक नम्बर प्लेटको गाडीमा कालोबजारीका सामान बिक्री गर्दागर्दै पक्राउ त परिसकेका छन्, उक्त गाडीमा दूतको सुविधा दुरुपयोग गर्र्दै यसअघि के के गर्थे, अहिले के के गरिरहेका होलान् ? यो अहम् प्रश्न छ ।अवैतनिक दूतले ओहदा र सुविधाको दुरुपयोग गैरकानुनी क्रियाकलापमा पनि गरेको पछिल्लो दृष्टान्त हुन्, अशोक अग्रवाल र सुलभ अग्रवाल ।

 

सरकारले औपचारिक सम्बन्ध नै नभएका देशका अवैतनिक दूतलाई किन मान्यता दिइरहेको छ त परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भन्छन्–‘महाबाणिज्यदूत राख्ने काम सम्बन्धित देशको जिम्मेवारीको कुरा हुन्छ । कुनै देशले दूताबास राख्न सकेनौं, अनररी कन्सुलर राख्छौं भनेर भन्दा सहजीकरण गरिदिनुपर्ने हुन्छ । अभ्यासहरु त्यस्ता छन् । यो नेपालको चाहना भन्दा पनि सम्बन्धित देशको चाहनाको कुरा हो ।’ हाम्रा पनि ३९ ठाउँमा मिसनहरु छन् । दूताबासहरु ३० देशमा मात्र छन् । सबै ठाउँमा दूताबासहरु खोल्न सकिंदैन । त्यहाँ सम्पर्कका लागि केही न केही सूत्रहरु चाहिन्छ । त्यस्ता सूत्रहरु बनाउने भनेकै दूतहरुबाट हो । हामीलाई जस्तै अरु देशहरुलाई पनि नेपालमा दूत आवश्यक पर्नसक्छ । मन्त्री ज्ञवाली भन्छन्–‘अवैतनिक दूतहरु राख्ने अभ्यास नै गलत त होइन । ठीक मानिसहरु चयन भए कि भएनन्, तिनीहरु कूटनीतिक आचारसंहिताअनुसार चले कि चलेनन् भन्ने कुरा मुख्य हो ।’

 

नेपालले विभिन्न देशका लागि नियुक्त गरेका अवैतनिक दूतहरुले कूटनीतिक सुविधा पाउँदैनन्, तर नेपालमा त्यस्तो सुविधा दिन आवश्यक छ र भन्ने जिज्ञासामा उनले भने–‘अवैतनिक दूतहरुलाई दिने सुविधाहरुका बारेमा विभिन्न देशका विभिन्न खालका अभ्यासहरु रहेछन् । नेपालले एक ढंगले अभ्यास गर्र्दैआएको छ । पछिल्लो समयमा आएर निलो प्लेटको गाडी सुविधाको बारेमा धेरै प्रश्नहरु उठि नै रहेका थिए, हामीले आन्तरिक रुपमा रिभ्यू पनि गरिरहेका थियौ । त्यसक्रममा केही दिनअघि त्यो घटना घट्यो । त्यसबारेमा के गर्ने भन्नेबारेमा हामी अध्ययन गरिरहेका छौं ।’

 

के के सुविधा पाउँछन् अवैतनिक दूतले ?

नेपालमा अवैतनिक दूतलाई कूटनीतिक सुविधाको नम्बर प्लेट भएको गाडीदेखि विदेश जाँदा विमानस्थलमा भीआइपी कक्ष प्रयोग गर्न दिने जस्ता सुविधा दिने गरिएको छ । सिंहदरबार प्रवेशदेखि विशिष्ट भेटघाट जस्ता सुविधा दिने गरेको छ । सरकारले भियना कन्भेन्सनमा हुँदै नभएको ब्यवस्था विपरीत अवैतनिक दूतलाई दिएको कूटनीतिक उन्मुक्तिका कारण गिनी, बोस्निया हर्जगोभनिया, किर्गिस्तान, मंगोलिया जस्ता देशका समेत अवैतनिक दूत नेपालमा छन् । जुन देशसँग नेपालको औपचारिक सम्बन्ध पनि छैन । बुल्गेरिया, चिली, इथोपिया, चेक रिपब्लिक, क्रोसिया, इष्टोनिया, कोलम्बिया, टर्की, युक्रेन, फिजीका पनि नेपालमा अवैतनिक दूत छन् ।

 

नेपालमा कूटनीतिक उन्मुक्ति पाउने भएपछि सुलभ अग्रवाल, अशोक अग्रवाल जस्ता ब्यापारीहरुले सम्बन्धित देशका बिचौलियामार्फत् घुस खुवाएरै नेपालको अवैतनिक दूत नियुक्त हुने गरेको परराष्ट्र मामिलाका विज्ञ एक कूटनीतिज्ञले नाम उल्लेख नगर्ने सर्तमा नेपालफेसलाई बताए । अवैतनिक दूत भएपछि कूटनीतिक नियोगले प्रयोग गर्ने नम्बर प्लेटको गाडी प्रयोग गर्न पाउने र उक्त गाडी कहीँ पनि चेकजाँच नहुने भएकाले जे जस्ता कार्य गरे पनि उन्मुक्ति पाउँदा रहेछन् भन्ने खुलासा अशोक अग्रवाल र सुलभ अग्रवाल प्रकरणपछि खुलेको छ ।

 

अवैतनिक दूतको लर्को, एकै परिवारका ६ जनासम्म

अवैतनिक महाबाणिज्यदूत (अनररी कन्सुलर) एक मानार्थ पद हो । तर नेपालमा अवैतनिक दूत कानुन विपरीत काम गरी उन्मुक्ति पाउनका लागि लिने क्रम बढेको छ । कूटनीतिक सुविधा पाउने भएपछि पछिल्लो समयमा अवैतनिक दूत हुने होडबाजी चलेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिले नेपालमा ५१ देशका अवैतनिक दूत रहेका छन् । यसरी अवैतनिक दूतको पगरी लिएर त्यसको आडमा कूटनीतिक सुविधा लिनेहरुमा चौधरी ग्रुपका प्रमुख विनोद चौधरीको परिवारका ६ जना छन् । उनका भाइहरु वसन्तकुमार चौधरी मोरक्को र अरुणकुमार चौधरी हंगेरीका दूत हुन् । चौधरीका जेठा छोरा निर्वाणकुमार चौधरी सर्बियाका दूत हुन् भने माइला छोरा राहुल चौधरी माल्दिभ्सका दूत छन् । कान्छा छोरा बरुण चौधरी काजकिस्थानका हुन् । विनोद चौधरीका साला मोरङ अटोवक्र्सका संचालक बिष्णु अग्रवाल चेक रिपब्लिकाका अवैतनिक दूत हुन् ।

 

त्यस्तै किर्गिस्तानका दूत सुलभ अग्रवाल भाइ साहिल अग्रवाल पनि अवैतनिक दूत हुन् । साहिल बोस्निया हर्जगोभिनियाका अवैतनिक दूत हुन् । जुन देश यु द्धले ज र्जर भएको र नेपालसँग कुनै पनि हिसाबले औपचारिक सम्बन्ध नभएको देश हो । राजेन्द्र खेतान पोर्चुगलका दूत हुन् । खेतानका भाइ प्रेमप्रकाश खेतान टर्कीका दूत हुन् । राजेन्द्र खेतानले श्रीमती सारिकालाई रोमानियाको अवैतनिक दूत बनाएका थिए । तर मिडियामा समाचार आएपछि उनको नाम परराष्ट्र मन्त्रालयको बेबसाइटमा हाल छैन । सारिकाले छाडेपछि रोमानियाको दूतमा नारायण बजाज छन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल इण्डोनेसियाका लागि अवैतनिक बाणिज्य दूत हुन् भने अजय सुमार्गी बेलारुसका हुन् । एसिएन एयरका संचालक ब्यवसायी स्व. आङछिरिङ शेर्पा बेल्जियमका दूत थिए । मनकामना केबलकारका राजेशबाबु श्रेष्ठ अष्ट्रियाका लागि अनररी कन्सुलर हुन् । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भियतनामका दूत हुन् । द्वारिका होटलकी संचालक अम्बिका श्रेष्ठ स्पेनकी दूत हुन् ।

 

फिजीमा पारस शाक्य रहेका छन् । कुमारी बैंकका लगानीकर्ता तथा गोल्डस्टार जुत्ता उत्पादक अमिरप्रताप राणा क्रोसियाका दूत छन् । ज्योति ग्रुपका पदमज्योति साइप्रसका हुन् । पंचकन्या ग्रुपका प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिकाका दूत हुन् । भारतबाट त स्करीको चिनी ल्याएर नेपाली उद्योगको ट्याग झुन्ड्याएर बिक्री गर्ने र ६ अर्ब उखु किसानको नाममा भ्याटफिर्ता लिएर खाने शशीकान्त अग्रवाल इक्वेडरका दूतका रुपमा कुटनीतिक उन्मुक्ति लिइरहेका छन् । शारदा ग्रुपका शिवरतन शारदा जर्जियाका दूत हुन् । ग्रिसका विक्रम पाण्डे हु्न् । उनी पर्यटन ब्यवसायी हुन् । यी पाण्डे पूर्वमन्त्री तथा कालिका कन्ष्ट्रक्सनका संचालक हुन् भन्ने भ्रम धेरैलाई परेको छ । इरानमा नरेश श्रेष्ठ, आयरल्याण्डका मनोजबहादुर श्रेष्ठ, इटलीमा प्रतिमा राणा पाण्डे, लात्भियाका कर्ण बैद्य, लिथुहनियाका शोभाकर न्यौपाने, लक्जमबर्गका श्रीराम लामिछाने छन् । मनोजबहादुर हिमालयन बैंकका अध्यक्ष हुन् भने लामिछाने राजाको शासनकालमा स्काउटका प्रमुख आयुक्त थिए ।

 

इथोपियाको राजेन्द्र गिरी, इष्टोनियाको नवराज दाहाल, डेनमार्कको हरि धरेल, कोलम्बियाको विनयमान श्रेष्ठ, चिलीका वसन्तराज मिश्र, क्यानडाका बुद्ध बस्नेत, बुल्गेरियाका भोलाविक्रम थापा बाणिज्यदूत छन् । दाहाल र धरेल पर्यटन ब्यवसायी हुन् । उनीहरु दुवै एशोसिएसन अफ ट्रेकिङ एजेन्टस् नेपाल (टान) का पूर्व अध्यक्ष हुन् । थापा पुराना ट्राभल संचालक हुन् ।

 

माल्टाका दिनेश श्रेष्ठ, मेक्सिकोका नरेश दुगड, मंगोलियाको दूत छेतेन गुर्मेन श्रेष्ठ छन् । पेरुका सुमितकुमार अग्रवाल, फिलिपिन्सका सुरज बैद्य, पोल्याण्डका लोकमान्य गोल्छा, स्लोभाक रिपब्लिकका पासाङदाबा शेर्पा, स्वीडेनका गजेन्द्रबहादुर श्रेष्ठ, तान्जेनियाका राजेश चौधरी र युक्रेनका किरण बैद्य छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु