अशोकशरण अधिकारी, काठमाडौं । नयाँ बजेट घोषणासँगै भएको नीतिगत भ्रष्टाचारमा अर्थमन्त्री युवराज खतिवडा जोडिएका समाचार बाहिरिएका छन् । यसअघि पनि उनी विभिन्न व्यापारिक घरानाको स्वार्थमा रुमल्लिएको समाचार आएका थिए । गभर्नर छँदा समेत खतिवडाका कामहरु विवादित बने । आफू नजिककालाई नियम, कानुनको छिद्र वा जस्केलाबाट काखि च्याप्ने, बिरोधीलाई हात धोएर पछिलाग्ने उनका विशेषता धेरैवटा निर्णय र व्यवहारले पुष्टि गरेका छन् ।

 

व्यापारिक घरानाको स्वार्थ जोडिएको विषयमा निर्णय गर्न र गरेपछिको ‘लाभ’ ग्रहण गर्न विश्वासिलो सेटिङ नबनाउँदा धेरैजना मन्त्री र उच्चपदस्थको गोप्य सूचना बाहिरिएकोमा खतिवडा सचेत थिए । त्यसैले उनी मन्त्री बनेकै दिन नेपाल राष्ट्र बैंक, बिराटनगरमा रहेका कनिष्ठ अधिकृत तथा छोरीज्वाईं रामशरण खरेललाई ठाडो निर्देशनमा मन्त्रालय झिकाए । निकै आलोचना भएपछि गत साउन १ गते बैंक फर्केका खरेललाई लकडाउनबीच मन्त्रीले बैशाख पहिलो साता पुनः मन्त्रालयमा झिकाए ।

 

सरकारको बजेट बनाउने अर्थ मन्त्रालयको नियमित काम हो । बजेट निर्माणको लागि मन्त्रालयमा पर्याप्त जनशक्ति हुँदाहुँदै छोरीज्वाईंलाई काजमा झिकाएपछि सबै कर्मचारी झस्केका थिए । तर, अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको समाचार बाहिरिएपछि उनले छोरीज्वाईंलाई कुन प्रयोजनको लागि मन्त्रालय झिकाएका थिए भन्ने तथ्य उदांगो भएको छ ।

 

उनले बजेटमा उल्लेखित करका दरमा गर्ने घटबढले व्यवसायीको आम्दानी र घाटामा पार्ने प्रभावको आन्तरिक अध्ययन र सेटिङ मिलाउन खरेललाई मन्त्रालय झिकाइएको छर्लङ भएको छ । खतिवडाको परिवारसँग राम्रै हिमचिम रहेको विशाल ग्रुपलगायतका मारवाडी समुदायसँग आफूले प्रत्यक्ष उठबस गर्न नमिलेपछि मन्त्रीले ज्वाईंलाई अघि सार्दै दुई वर्षअघि देखि नै मन्त्रालय झिकाएका थिए । खरेलले तीन वर्षअघि बैंकको सरुवा पनि ससुराको सल्लाहमा मारवाडीहरुको बाक्लो उपस्थिति रहेको बिराटनगर नै मागेका थिए ।

 

बजेटमा विद्युतीय सवारी साधनमा राजश्व र अन्तःशुल्क बढाउने, चकलेटमा घटाउने तथा महँगा र'क्सीमा बढाउने योजनाबद्ध तयारी गरियो । विशाल ग्रुपगायतका मारवाडी समुदायको आग्रहमा गरिएको उक्त खेलको योजनामा प्राप्त हुने ‘लाभ’ ग्रहणका लागि ज्वाईं खरेललाई प्रयोग गरिएको स्रोतको दाबी छ । मन्त्रालयमा काजमा झिकाइएकाले मन्त्रीसँग बेरोकतोक बातचित गर्न, ज्वाईं भएकाले साँझ, बिहान मन्त्री क्वार्टर वा ससुराली आउजाउ गर्न मिलेकाले कसैले शंका गर्ने ठाउँ नै भएन ।

 

यता, विशाल ग्रुपलगायतका व्यापारी र व्यवसायीले मन्त्री खतिवडासमक्ष पुर्याउनुपर्ने सन्देश र उनको जवाफ आदानप्रदान लकडाउनको समयमा पनि खरेल निवास धुम्बाराहीबाट गर्दै आएका थिए । मन्त्रीले करको दरमा हेरफेरबारे अर्थ सचिवलाई समेत अघिल्लो दिनसम्म जानकारी गराएका थिएनन् । यसबाट पनि मन्त्रीले सोझै ज्वाईंसँगको सेटिङमा मारवाडी समुदायका व्यापारीलाई गोप्त तवरले जानकारी गराएको बुझ्न सकिन्छ ।

 

सेटिङबमोजिम बजेटअगावै विशाल ग्रुपको समेत साझेदारी रहेको पारामाउण्ट मोटर्स कम्पनीले १ सय २१ वटा महँगो विद्युतीय गाडी १० प्रतिशत भन्सार तिरेर भित्र्याएको हो । यसबाट राज्यलाई सोझै भन्सार र अन्तःशुल्कवापत एक अर्ब रुपैयाँ भन्दाबढी घाटा लागेको छ । त्यसैगरी, बाँकी एक सयवटा गाडी मगाएका अन्य व्यवसायी र मन्त्रीबीच पनि अशोकले ज्वाईंमार्फत् मध्यस्थता गरिदिएका थिए । त्यसवापत थप एक अर्ब राजश्व गुमेको छ ।

 

सेटिङबमोजिम मन्त्री खतिवडाले चकलेटमा भन्सार दर घटाएर सोही गु्रपलाई गुन लगाइदिएका छन् । नयाँ आर्थिक ऐनअनुसार चकलेटमा १० प्रतिशत भन्सार छुट दिइएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो दुई आर्थिक वर्षमा आयात गरिएको चकलेट र चुईंगमको ७० प्रतिशत हिस्सा विशाल ग्रुपको देखिन्छ ।

 

गतवर्ष पाँच अर्ब रुपैयाँको आयात गरिएको चकलेटमध्ये उक्त ग्रुपको तीन अर्ब रुपैयाँको थियो । गतवर्ष चकलेट र चुईंगमबाट मात्र दुई अर्ब राजश्व आम्दानी भएको थियो । यो वर्ष उनले चकलटेमा एकाएक १० प्रतिशत भन्सार घटाइदिए । पूर्वजानकारी पाएकाले ग्रुपले लकडाउनअघि चकलेट मगाएन तर मगाउने अरु कम्पनी भने सोझै घाटामा गएका छन् ।

 

नेपालमा सबैभन्दा धेरै महँगो र'क्सी आयात गर्ने पनि विशाल ग्रुप नै हो । सेटिङको छनक पाएपछि उसले पहिल्यैदेखि धेरै र'क्सी मौज्दात गरेको थियो । अहिले र'क्सीमा बढाइएको करले मात्रै विशाल ग्रुपलाई अरबौं रुपैयाँ नाफा हुने देखाएको छ । सेटिङमा ज्वाईं प्रयोग गर्नुको अर्को सुझबुझपूर्ण कारण पनि खुलेको छ । गभर्नर छँदा कनिष्ठ हुँदाहुँदै ज्वाईंलाई दुई वर्षको लागि अमेरिकास्थित अन्तर्राष्ट्रिय मुद्रा कोष पठाएको फाईदा अहिले देखिएको छ । काम फत्ते भएपछि व्यापारी तथा व्यवसायीले ज्वाईं खरेल तथा छोरीको अमेरिकास्थित बैंक खातामा डलरमा जम्मा गर्ने गरिएको पनि उच्चस्रोतले बताएको छ । अर्थमन्त्रीपछि अमेरिकाको राजदूत बन्न खोज्नुले समेत खतिवडाको ती खातामा रहेको रकम व्यवस्थापन गर्ने अभिलाषा प्रमुख देखिन्छ ।-दृष्टिबाट साभार

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु