काठमाडौ । कोरोना महामारीका कारण अन्य रोगका बिरामीहरुको पनि बिजोग भइरहेको छ । देशका विभिन्न जिल्लाहरुबाट बिरामीहरु आउँने चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिजोग भएको छ । यहाँ भर्ना भएका बिरामी र कुरुवाहरूले विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । लकडाउनका कारण उपचारमा हुने ढिलाइ र होटल तथा रेस्टुराँ बन्द हुँदा बिरामीका साथै आफूहरूले पनि अस्पतालबाहिर बसेर पालो कुर्नुपरेको कुरुवाहरूले दुःखेसो व्यक्त गरेका छन् ।

 

केही कुरुवाले अस्पतालबाहिरै बिरामीलाई सुताएर सडक किनारामा खाना पकाउनु परेको बाध्यता रहेको बताएका छन् । एक जना कुरुवाका अनुसार बिरामीलाई खाना बनाउनु र खुवाउनुपर्छ, कपडा धुनुपर्छ । तर राम्रो र सुरक्षित ठाउँ नहुँदा खुला ठाउँमा खाना पकाएर खानुपर्ने बाध्यता छ । लकडाउनका कारण होटलहरू बन्द भएको र क्यान्टीनमा महँगो पर्ने भएकाले कैयौँ बिरामीका आफन्तले आफैँ पकाएर खानुपर्ने स्थितमा पुगेका हुन् ।

 

क्यान्सरका बिरामीका लागि सहयोगी आवश्यक पर्ने बताउँदै अर्का एकजनाले भने, ‘एक जना त बिरामीसँगै बस्नुपर्‍यो, एक जना रिपोर्ट र उपचारको दौडधुप गर्नुपर्ने हुन्छ । लकडाउनले खानको समस्या छ। खान समस्या नभएको भए केही थिएन ।’ उक्त अस्पतालमा आएका बिरामी र कुरुवा खुला चौरमा खाना पकाएर खाने र रातमा अस्पतालको पिँढीमा सुत्ने गर्दै आएका छन् ।

 

अस्पतालको ढिलासुस्तीले बिरामीलाई समस्या परेको उनीहरुको दुःखेसो रहेको छ । अर्को तिर अस्पतालले भने कोरोनाभाइरसका कारण सीमित जनशक्तिका आधारमा काम गर्नुपर्दा उपचारमा केही ढिलो भएको बताएका छ । अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेलेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार नै केही स्वास्थ्यकर्मीलाई आकस्मिक जगेडामा राखिएको बताउनुभयो ।

 

उहाँले त्यस्ता स्वास्थ्यकर्मीले अहिले खटिएका स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण भए खटिनुपर्ने भएकाले केही ढिलो हुन गएको स्वीकार गर्नुभयो । कोभिड–१९ रोकथाम र व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी र सहयोगीहरू सङ्क्रमित हुन गई सेवा प्रवाहमा निरन्तरता दिन कठिनाइ हुन सक्ने भएका भन्दै केहीअघि मन्त्रालयले सबै अस्पताललाई उपलब्ध जनशक्ति सुरक्षित र व्यवस्थित गर्न दुईवटा समूह बनाई आलोपालो काममा खटाउन निर्देशन दिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु