काठमाडौ । सरकारले अब केही जिल्लामा लकडाउन खुलाउँने भएको छ । एक सयभन्दा कम कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने गरी लकडाउनका ढाँचा तयार पारेको खुल्न आएको छ ।

 

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले शुक्रबार केही मन्त्रीहरुसँग लकडाउनको अहिलेको अवस्था परिवर्तन गर्नेबारे अनौपचारिक छलफल गरेका छन् । सो छलफलमा असार १ गतेपछि कसरी जनजीवन सामान्य बनाउने भन्नेबारे प्रस्तावित योजनामाथि परामर्श भएको छ । सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । तर, यसबीचमा प्रधानमन्त्रीले आयोजना गरेको विज्ञहरुको छलफलमा लकडाउनको अहिलेको तरिका परिवर्तन गर्न सुझाव आएको थियो ।

 

सो सुझावअनुसार शनिवारसम्म प्रस्ताव तयार गर्न समितिलाई मन्त्रिपरिषदले जिम्मा दिएको छ । सरकारको नीतिअनुसार नै अहिले उत्पादनमूलक उद्योग व्यवसायहरु, बैंक तथा वित्तिय संस्था, सबै प्रकारका कृषि व्यवसायहरु र सबै प्रकारका ढुवानी साधनहरु निर्वाध रुपमा चलिरहेको उच्चस्तरीय समन्वय समितिले जनाएको छ । दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय कहिल्यै पनि बन्द नभएको समितिको भनाइ छ ।

अहिले केही व्यवसायीले लकडाउन अवज्ञा गर्दै पसलहरु खोल्न आह्वान गरे पनि अधिकांश त्यस्ता पसलहरु नियमित खुलिरहेको समितिका एक सदस्यले बताए । सरकारविरोधी कतिपय शक्तिले लकडाउन उल्लंघन गर्न उक्साए पनि सरकारले आफ्नो अडान लगातर अगाडी बढाउने निश्चय गरेको छ । सरकारले जेठ २५ गतेदेखि व्यक्ति व्यक्तिबीच कम्तिमा १ मिटरको भौतिक दूरी राख्ने र आवश्यक प्रोटोकल पालना गर्ने गरी उपभोग्य वस्तु बाहेकका अन्य पसलहरु पनि खोल्ने गरी लकडाउनको तरिका बदल्ने गृहकार्य गरेको छ ।

 

सम्भवतः ढिलोमा आइतबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । जेठ २५ गतेपछि दैनिक उपभोग्य सामाग्री बाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिमार्टमेन्ट स्टोरहरु पनि मापदण्ड अनुसार सञ्चालन हुन दिने गरी प्रस्ताव तयार भएको छ । त्यसमा कपाल काट्ने सैलुन, हाल बन्द भएका अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरुपनि खुल्नेछन् । यसका साथै एउटा जिल्लाबाट अर्को जिल्ला नकट्ने सवारी साधन र कार्यालयको परिचपत्रका आधारमा कामसँग सम्बन्धित सवारी साधनहरु पनि चल्न दिने प्रस्ताव गरिएको छ ।

 

सीसीएमसीले असार १ गतेदेखि सञ्चालन हुने क्षेत्र भनेर ६ वटा व्यवसायलाई खुला गर्ने प्रस्ताव राखेको छ । जसमा सबै प्रकारका उद्योग व्यवसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दूरीका यात्रुवाहक सवारी साधानहरु, माप विक्री वितरण गर्ने पसलहरु र सपिङ मलहरु छन् । यीमध्ये आन्तरिक हवाई सेवामा यात्रु क्षमताको आधा संख्यामा मात्र यात्रु राख्नुपर्ने भनिएको छ । त्यस्तै लामो दूरीका सवारी साधानमा पनि आधा क्षमताका मात्र यात्रु राख्न प्रस्ताव गरिएको छ भने माप पसलहरु निश्चित समय तोकेर खोल्न दिने भनिएको छ ।

 

असार १७ गतेपछि लकडाउन थप खोल्न प्रस्ताव गरिएको छ । त्यसपछि अन्तर्राष्ट्रिय हवाई उडान, कम्तिमा एक मिटरको दूरी कायम गर्ने गरि खुल्ला खेलस्थलहरु पनि खोल्न सिफारिस गरिएको छ । त्यस्तै सबै प्रकारका शिक्षण संस्थाहरु असार १७ पछि ठाउँ हेरेर खोल्न सकिने सिफारिस छ । रेष्टुरेन्ट तथा खाजा पसलहरुहरु पनि असार १७ पछि मात्र खोल्न सकिने सिसिएमसीको सिफारिस छ । त्यसो गर्दा एक मिटरको भौतिक दूरी कायम गर्ने र साँझ ७ बजेसम्म मात्र खोल्न दिने भनिएको छ ।

 

तर, सभा समारोह, उत्सव, भोज भतेर जस्ता जमघट भदौ मसान्तसम्म सन्चालन नगर्ने सिफारिस छ । त्यस्तै एकैपटक २५ जनाभन्दा बढी भेला हुने कुनै पनि क्रियाकलाप नगर्ने र सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु पनि भदौ मसान्त अघि खोल्न नहुने सिफारिस गरिएको छ ।

 

उच्चस्तरीय समन्वय समितिमा परामर्शका क्रममा रहेको यो प्रस्तावमाथि विज्ञहरुसहित थप छलफलपछि मन्त्रिरिषदमा लगिने छ । मन्त्रिपरिषदले कतिपय क्षेत्रहरुका बारेमा हेरफेर गरी संक्रमण फैलावटको अवस्था हेरेर विभिन्न जिल्ला तथा क्षेत्रमा लकडाउन खुकुल्याउने र कडा पार्ने निर्णय लिने एक मन्त्रीले बताए । यस्तो अवस्थामा १ सय भन्दा कम संक्रमण भएका जिल्लाहरुमा लकडाउन क्रमश खुकुलो हुँदै जानेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु