काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले विज्ञसँग छलफल गरेर तयार पारेको लकडाउनको स्वरूपका विषयमा निर्णय गर्न सक्ने बताइएको छ। बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले विज्ञसँग छलफल गरेर तयार पारेको स्वरूपका विषयमा छलफल चलिरहेको एक मन्त्रीले बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लकडाउन सहजीकरण गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भइरहेको उल्लेख पुष्टि गरेका छन्।

 

यसअघि दिउँसो २ बजेका लागि बोलाइएको बैठक संसद् बैठकका कारण साँझलाई सारिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सरकारले लकडाउनलाई सरलिकरण गर्नेबारे निर्णय गर्न लागेको जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले कोभिड–१९ परीक्षण निजी क्षेत्रलाई दिनसक्नेबारे पनि निर्णय हुन लागेको संकेत गरेका थिए।

 

 

साथै, लकडाउन र कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको असहज अवस्थालाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे पनि मन्त्रिपरिषद्ले निर्णय लिने प्रधानमन्त्रीले सदनमा जानकारी गराएका थिए। कोरोना संक्रमणको जोखिम फैलिन नदिन सरकारले ११ चैत २०७६ देखि लकडाउन लागू गरेको थियो। पछिल्लो पटक लकडाउनको अवधि लम्ब्याएर ३२ जेठसम्म कायम गरिएको छ। लामो समयदेखि जारी लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यवसाय र जीविकोपार्जनमा समेत कठिनाइ भइरहेको भन्दै चौतर्फी रूपमा सरकारलाई लकडाउन खुकुलो बनाउन दबाब बढिरहेको छ।

 

काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा लकडाउनको अवज्ञा पनि भइरहेको छ। सरकार कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको अन्तिम चरणमा पुगेको हो । त्यसका लागि १० चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ ।

 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको १० चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरु र विभिन्न मन्त्रीहरुबीच उक्त प्रस्तावलाई लिएर छलफल भएको थियो । आज त्यही मोडालिटी पारित हुनेछ । जसमा असार १ बाट लागू हुने गरी अघि सारिएका १० चरणका कार्यहरु छन् । १० चरणको लकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिष्कृत सहित मन्त्रीपरिषदमा पेस भएको थियो ।

 

आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई खुकुलो बनाउन उच्चस्तरीय समितिले सुरुमा तीन चरणको मोडालिटी अघि सारे पनि अहिले १० चरणको नयाँ मोडालिटीलाई नै अघि बढाउने लक्ष्य राखिएको छ । १० चरणमा लकडाउन खुकुलो बनाउने मोडालिटीमा हरेक दुई सातामा स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर आर्थिक र सामाजिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउँदै लैजाने उल्लेख छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु