काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् । दुवै एयरलाइन्सले पूर्ण क्षमताका साथ विदेशबाट नेपाली बोक्नेछन् । नेपाल एयरलाइन्सको मात्रै चार जहाजले दैनिक एक हजार ६०० यात्रु ल्याउन सक्ने क्षमता छ । त्यस्तै हिमालयले करिब एक हजार यात्रु ल्याउन सक्छन् ।

विदेशस्थित कोभिड महामारीका कारण आफ्नो देश फर्कन चाहनेले अहिलेसम्म आ–आफ्नो देशस्थित राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिसकेको छ । निगमका अपरेशनल विभागका प्रमुख दीपु जुहार्जनका अनुसार नेपाल एयरलाइन्सले जुन महिनामा मात्रै दुई दर्जन उडान गर्दैछ ।

जसअनुरुप जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान हुनेछ । त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबइ, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।

त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जल्स या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ । जुन महिनाका विभिन्न मितिमा हिमालय एयरलाइन्सले बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अरब, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले विदेशबाट नेपाली ल्याउन जहाज तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । सरकारले गरेको निर्णयअनुरुप चार्टर्ड उडानका लागि सबैखाले तयारी थालिएको उहाँले उल्लेख गर्नुभयो । रासस

सम्बन्धित खबरहरु