काठमाडौं । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन । सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँले जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको बताउनुभयो ।

“शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो सङ्ख्या अहिले ह्वात्तै घटेको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “आजभोलि दिनमा चार÷पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।” आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उहाँको अनुमान छ ।

आइसोलेसन निर्माणमा उपमहानगरपालिका

धनगढी उपमहानगरपालिका–१५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रको भवनमा निर्माण भइरहेको आइसोलेसन कक्षको निर्माण अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत निर्माण भएको जडीबुटी प्रशोधन केन्द्रको खाली भवनमा अहिले झण्डै २८ श्ययाको आइसोलेसन कक्ष सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

धनगढी नगरका कोरोना सङ्क्रमितलाई उपचार गर्न आवश्यक पर्ने जति श्यया राखिने उहाँको भनाइ छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना अस्पतालमा सङ्क्रमितको उपचार गर्न ठाउँ अभाव भएपछि उपमहानगरपालिका आफ्नै आइसोलेसन कक्ष निर्माणमा जुटेको बताइएको छ । आइसोलेसनको तयारीका लागी श्यया मिलाउने, बिजुलीबत्ती तथा उपकरण जडान गर्ने काममा नगरका स्वास्थ्यकर्मी र प्राविधिक टोली रातदिन खटेर काम गरिरहेको बताइएको छ ।

“सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रूपमा तयार गरे पनि सङ्क्रमितको सङ्ख्या बढेकाले आइसोलेसनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन्”, प्रमुख वडले भन्नुभयो, “सबै स्थानीय तहहरुले आफँै आइसोलेसन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।”

उपमहानगरपालिका कोभिड–१९ उपसमितिका संयोजक नारायण बरालले एक÷दुई दिनमै सञ्चालनमा ल्याउन सक्ने गरी आइसोलेसन कक्ष निर्माणको काम भइरहेको बताउनुभयो । बिरामीको चाप भइरहने सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउँदा सङ्क्रमितको उपचारमा समस्या भएको संयोजक बरालको भनाइ छ । उपमहानगरपालिकाभित्रका कोरोना सङ्क्रमितको मात्रै उपचार गरिने आइसोलेसन कक्षभित्र महिलाका लागि छुट्टै कक्ष तयार गरिएको बताइएको छ । रासस

सम्बन्धित खबरहरु