काठमाडौं । कोभिड–१९ को विभिन्न बहानामा पत्रकारको पेशागत अधिकार नखोस्न सञ्चारगृहलाई विभिन्न पत्रकारका सङ्घसङ्गठनले आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को असरपछि विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधानका लागि आज पत्रकारका सङ्घसङ्गठनसँग गरेको छलफलमा उनीहरुले पत्रकारको पेशागत अधिकार नखोस्न सञ्चारगृहसँग आग्रह गरेका हुन् ।

कोभिड–१९ को बहानामा पत्रकारलाई निष्काशन गर्ने, बिदामा बस्न बाध्य बनाउने, पारिश्रमिकलगायत सुविधा कटौती गर्ने गरी काम गर्न नसक्ने वातावरण बनाउने जस्ता कार्य सञ्चारगृहले गरेकाले महासङ्घको नेतृत्वमा आन्दोलन गर्नुपर्नेसमेत बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घले श्रमजीवी पत्रकारका विषयमा कोहीकसैसँग सम्झौता नगर्ने र अहिलेको सङ्कटपूर्ण समयको बहानामा पत्रकारमाथि भइरहेको अमानवीय व्यवहारको डटेर सामना गर्ने बताउनुभयो । यसका लागि सञ्चारमाध्यम मात्र नभएर सञ्चालकका घरमै पुगेर धर्ना दिने तयारी पनि गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहालले वर्षौं मिडिया चलाएर ठूलो रकम कमाएका सञ्चालकले कोभिडको बहानामा पहिलो महिनादेखि नै पत्रकारलाई निष्काशन गर्ने, बिदामा राख्ने वा दिइरहेको सुविधा कटौती गर्ने सञ्चारगृहका विरुद्ध आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले अहिले वर्षौंदेखि नेपालका पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधान गरी यो क्षेत्रलाई व्यवस्थित, पारदर्शी र आकर्षणको थलो बनाउने अवसर आएकाले सबै सङ्गठनले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले मिडिया सञ्चालकले गैरजिम्मेवार काम गरिरहेको र सरकारले पनि पत्रकारका लागि कुनै राहतको कार्यक्रम नल्याएकाले पत्रकार निरीह बनेकाले यसको समाधानका लागि पत्रकार महासङ्घले अगुवाइ गर्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङले सरकारले सङ्कटमा परेका पत्रकारका लागि कुनै पनि राहतका कार्यक्रम नल्याएको बताउनुभयो । यस्तै सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले अहिलेको समयमा पत्रकार महिला अझ समस्यामा रहेकातर्फ ध्यानाकर्षण गराउनुभयो ।

छलफलमा प्रेस नेपालका अध्यक्ष केशवराज अर्याल, मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याल, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका धनञ्जय बुढालगायतले सङ्कटको घडीमा श्रमजीवी पत्रकारको पेशागत अधिकार रक्षाका लागि महासङ्घले गर्ने आन्दोलनमा आफुहरुको ऐक्यबद्धता रहने बताउनुभयो । रासस

सम्बन्धित खबरहरु