काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा परेको नेपालमा बाली नष्ट गर्ने सलह किराको बथान छिरेको छ । तराईका बारा, पर्सा र सर्लाही जिल्लाबाट अन्‍नबाली नष्ट गर्ने सलह किरा प्रवेश गरेको कृषि मन्त्रालयले जनाएको छ। हावाबाट भारतको बिहार हुँदै सलह नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गरेसँगै यसले खेतीबालीमा पुर्‍याउन सक्ने क्षति तथा नियन्त्रणको लागि छलफल गर्न कृषि मन्त्रालयले जुम एपबाट मिटिङ गर्न लागेको कृषि मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले बताए।

 

 

‘जिल्लाका स्थानीय अधिकारीहरुले मन्त्रालयमा जानकारी गराएअनुसार तराईका २–३ वटा जिल्लामा देखिएका छन्। तिनीहरूको बथान कत्रो छ। २–४ सयको संख्यामा छन वा त्योभन्दा बढी त्यसको जानकारी दिनलाई निर्देशन दिएको छ, प्रवक्ता केसीले टेलिफोनमा भने, ‘तर कति ठूलो समूहमा आएको हो भन्ने पूर्ण जानकारी आइसकेको छैन।’ पूर्वी अफ्रिकाबाट सुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्‍याएको थियो। भारतको उत्तर प्रदेशमा आइपुगेपछि कृषि मन्त्रालयले क्षति न्यूनीकरण गर्न समिति गठन गरेको थियो।

 

 

सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाद्‍यन्‍न बालीमा क्षति पुर्‍याउँछ। नेपालमा यसले पुर्‍याउन सक्ने क्षतिबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ। कस्तो हो सलह किरा ? सलह विश्वकै खतरनाक किरामा गनिन्छ। यो हेर्दा फट्याङ्ग्रो जस्तै भए पनि थोरै ठूलो र यसको पछाडिको खुट्टा लामो हुने गर्दछ। यसको उफ्रिने क्षमता निकै बढी हुने गर्दछ। यो कीराले समूहमा आक्रमण गर्छ। एक्लै भने हिँड्न सक्दैन। हावाको गतिमा यिनीहरु उड्ने गर्छन्। कीराहरूले सेरोटोनिन नामक हर्मोन आ–आफ्नो मस्तिष्कमा उत्पादन गर्छन्। यिनीहरुले समूहमा आक्रमण गर्ने, एक ठाँउबाट अर्को ठाँउमा जाने जस्ता सामूहिक काम गर्छन्।

 

 

अरु कीराहरूले निश्चित समूहको बाली मात्रै खाने गर्दछन् भने यसले जुनसुकै जातको बाली र अझै रुख नै खाने गर्दछ। सलहको एक झुण्ड करिब १ वर्ग किलोमिटरको हुने गर्दछ भने यसमा करिब ८ करोड जति सलह हुन्छन्। चिसो ठाउँमा रहन सक्दैनन्। सलह २ हजार फिटमाथि जान सक्दैन। यी झुण्डले प्रत्येक दिन १० माइलको यात्रा तय गर्ने गर्दछन्। ठाउँ र समयसँगै यी कीराले आफ्नो रंग र रुप पनि परिवर्तन गरेको पाइन्छ। प्रारम्भिक चरणदेखि बयस्क अवस्थासम्म यसले असर गरिरहन्छ। नेपालका लागि यो कीरा नयाँ होइन। सन् १९६२ मा पनि यसको चर्चा भइसकेको थियो। सलह भारतको राजस्थानमा २० वर्ष अगाडि पहिलोपटक आउँदा पनि नेपालमा व्यापक असर गर्न सक्ने हल्ला चलेको विज्ञहरु बताउँछन्।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु