काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पदबाट हटाउन विभिन्न प्रयासहरू भइरहेको भनेर सार्वजनिक रूपमा दावी गर्दै त्यसको प्रतिवाद गर्न खोज्नु अहिलेको विषम परिस्थितिलाई आफ्नो पक्षमा पार्ने उनको प्रयासका रूपमा कतिपय राजनीतिशास्त्रीले अर्थ्याएका छन्। अहिलेको कोरोनाभाइरस महामारी नियन्त्रणदेखि विभिन्न अनियमिततासम्मका विषयमा प्रधानमन्त्री ओलीले 'दह्रो खुट्टा टेक्न नसकेको' कतिपय राजनीतिक विश्लेषकहरू बताउँछन्।

 

एउटा कुनै मुद्दामा मात्रै सशक्त रूपमा प्रस्तुत भएर नहुने भन्दै राजनीतिशास्त्री हरि शर्माले भने, "प्रधानमन्त्रीबाट त्यस्तो आउनु भनेको उनले विस्तारै आत्मविश्वास गुमाउँदै गएको भन्ने देखिन्छ। बाहिर जे देखिन्छ त्यो रहेनछ।" विगतमा पनि उनी नेतृत्वको सरकार ढल्नुमा बाहिरी कारणभन्दा आन्तरिक कारण नै मुख्य रहेको कतिपय राजनीतिशास्त्रीहरूको ठम्याइ छ।

 

अर्का राजनीतिशास्त्री कृष्ण पोखरेल भन्छन्, "अहिले प्रधानमन्त्रीले जे भन्नुभयो त्यो चाहिँ आफ्नो सत्ता जान्छ कि भन्ने भयको मनोविज्ञानबाट ग्रसित हुनुहुन्छ जस्तो मलाई लाग्छ।" "प्रधानमन्त्रीको आफ्नै कार्यशैलीले पार्टीभित्र उत्पन्न जुन परिस्थिति छ त्यसलाई आफ्नो पक्षमा पार्न उहाँले अहिलेको समयमा उठाउनुभएको जस्तो मलाई लाग्छ," उनले थपे।

 

प्रधानमन्त्रीले के भने?
स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा राजधानीमा आइतवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई विगतमा जस्तै पदबाट हटाउन खोजिएको दाबी गरे। कोरोनाभाइरस महामारी नियन्त्रण तथा सरकारका कामको प्रभावकारितालाई लिएर पार्टीको स्थायी कमिटीमा छलफल जारी रहेका बेला प्रधानमन्त्रीको पछिल्लो भनाइ आएको हो।

 

५८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोजिएको बताउँदै त्यो कुनै गल्ती नभएको उनले जिकिर गरे। प्रधामन्त्री ओलीले थपे, "तर त्यसो गरेपछि नेपालकै नेताहरू लागिपरेका छन्, बहस चलेको छ। अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन।" विगतमा चीनसँग व्यापार तथा पारवहन सन्धि गरेर फर्केपछि आफू नेतृत्वको सरकार ढालिएको उनले दाबी गरे। "…दिल्लीका सञ्चारमाध्यमहरूलाई सुन्नूस् त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ केके भइरहेको छ। यहाँका होटलमा भइरहेका गतिविधिहरू त्यसले पनि देखाउँछ। एम्बेसी [ दूतावास] को सक्रियता त्यसले पनि बताइरहेको छ।"

 

आफूलाई हटाउन पहिलाको जस्तो सहज नभएको चाहिँ प्रधानमन्त्री ओलीको भनाइ छ। "…नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशका प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन।" आफ्नो लागि भन्दा पनि देशका लागि आफू अहिले पदबाट हट्नु उपयुक्त नहुने प्रधानमन्त्री ओलीको तर्क छ। "मलाई प्रधानमन्त्री पदमा बसिरहन मन छैन, तर यति बेला म हट्ने हो भने फेरि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन। किनभने भोलिपल्ट बर्खास्त हुन्छ।" बीबीसी

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु