गोरखा । सभामुख सुबासचन्द्र नेम्बाङले संविधान बनाउने पूर्ण जिम्मेवारी माग गरेकामा एमाओबादी नेता बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । चेपाङ समुदायलाई कम्बल बितरण गर्न शुक्रबार गोरखा आएका भट्टराईले भने ‘सभामुख रेफ्री हो, उसले गोल गर्न पाउँदैन’।

उनले सभामुखको यो अभिब्यक्ति सत्तासिन दलको उक्साहटमा आएको बताए । सभामुखले संविधान बनाउनु र रेफ्रीले गोल गर्नु उस्तै भएको भन्दै सभामुखलाई संबिधान बनाउन कुनै हालतमा नदिने बताए ।

‘सभामुख भनेको खेलको रेफ्री हो’ नेता भट्टराईले भने, ‘दुवै पक्षलाई खेल खेलाउने रेफ्रि आफै मैदानमा खेल खेल्न गयो भने के हुन्छ ?, अनावश्यक ढंगले रेफ्री (सभामुख)लाई बिबादमा तान्न नहुने भट्टराईको भनाई छ ।

संविधानसभाका सबै नियमावली मिचेर सभामुखलाई संबिधान लेख्न दिनुपर्छ भनेर प्रस्ताव आउनु ठूलो षडयन्त्र भएको उनले बताए । ‘सभामुखको यो अभिब्यक्ति त्यसै आएको होइन, यो ठूलो षड्यन्त्रपूर्वक आएको हो’ भट्टराईले भने ‘जनताको बिचबाट चुनेर आएका जनप्रतिनिधिले संविधान नबनाइकन एकजना मान्छेलाई संविधान निर्माणको जिम्मा दिन खोजिएको छ । यसमा हाम्रो आपत्ति छ ।’

सभामुखले संबिधान लेख्ने प्रस्ताब कुनै हालतमा एमाओवादीलाई स्विकार नहुने उनको दाबी छ । चार दलको सहमती बेगर संबिधान निर्माण हुन नसक्ने उनले तर्क गरे । प्रक्रियामा गएर संबिधान निर्माण हुन नसक्ने भन्दै उनले राम्रो संविधान, हाम्रो संबिधान निर्माणका लागि सबै दल लचिलो भएर बैठकमा बस्नुपर्ने बताए ।

‘अंकगणितको बलमा सम्झौता हुन सक्दैन’ उनले भने, ‘अग्रगामी संविधानका लागि, सहमति उत्तम बिकल्प हो ।’ सहमति भए संविधान निर्माणका लागि माघ ८ कुर्नु नपर्ने उनको तर्क थियो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु