काठमाडौ । पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण गर्ने कार्यक्रमअनुसार चालु वर्ष २६० मिटर काम सम्पन्न भएको छ । गत वर्ष ११० मी काम भएको थियो । यस वर्ष शेर्माथाङ र नागीडाँडास्थित बुद्धपार्क दुवैतिरबाट एकै साथ निर्माण शुरु गरी १५० मी पदमार्ग सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत ६० किमी लामो चीनको ग्रेटवालको झल्को दिने खालको उक्त परियोजना सम्पन्न गर्न अनुमानित ३ अर्ब ५० करोड बजेट लाग्ने छ ।

 

 

उक्त कामका लागि गत वर्ष वाग्मती प्रदेश सरकारबाट ५० लाख बजेट निकासा भएको थियो । सोही बजेटबाट पालिकाकै प्राविधिकद्वारा १० किमीको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी रकमबाट ११० मी पदमार्ग निर्माण गरिएको थियो । यस वर्ष पनि वाग्मती प्रदेशको हेटौँडास्थित पर्यटन विकास आयोजनाले ५० लाख बजेटबाट शेर्माथाङ तर्फबाट काम शुरु गरी ७५ मी सम्पन्न गरेको छ । गाउँपालिकाले ४० लाख बजेटबाट नागीडाँडादेखि शुरु गरी ७५ मी सम्पन्न भई जम्मा १५० मी सम्पन्न भएको पालिकाका सबइञ्जिनीयर शेरबहादुर राईले बताए । उनका अनुसार यस वर्ष २१५ मी सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारीले बन्दाबन्दी भएपछि ३ महिनासम्म काम रोकिएको थियो ।

 

यस क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सिमेण्ट र बालुवाको ढुवानीको समस्याका साथै दक्ष कामदारको अभाव हुन पुगेपछि काममा ढिलाइ भएको हो । शुरुदेखि नै काम गर्ने अनुभवी कामदारबाटै काम गराउनुपर्ने हुँदा ती कामदारलाई बन्दाबन्दीमा घरबाट बाहिर निस्कन पालिकाले कडाइ गरेको थियो । कडाखाले चट्टाने ढुङ्गा काटेर इँटा आकारमा तयार गरी निर्माण गरिने उक्त पदमार्ग एक मी पूरा गर्न रु ३० हजार खर्च लाग्नाका साथै समय पनि बढी लाग्छ । सिमेण्टको जोडाइमा दुई मी चौडाइको सिँढी तयार गरी दुवैपट्टि ६० सेमी उचाइको पर्खाल निर्माण गरिएको छ । उक्त पदमार्ग आकर्षक र मनमोहक देखिन्छ ।

 

पहिलो मार्ग हेलम्बु १ को नागीडाँडास्थित बुद्धपार्क, शेर्माथाङ, ज्योमोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै ग्याङ्जाला भञ्ज्याङमा गएर टुङ्गिने छ । दोस्रो मार्ग हेलम्बु – ६ को इचोकस्थित घोप्टेघ्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमीसिदाङ हुँदै ग्याङ्जाला भञ्ज्याङमै गएर टुङ्गिने छ । उक्त पदमार्ग अङ्ग्रेजी अक्षरको ‘सी’ अर्थात् अर्धचन्द्राकारको हुनेछ । पदमार्गको निर्माण सम्पन्न भएपछि रसुवाको धार्मिकस्थल गोसाइँकुण्ड आवतजावतमा पनि सहज हुने बताइएको छ । -रासस

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु