काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ । पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको जनाएका हुन् । कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुदाँ त्यस क्षेत्रमा २७० कोठा तथा सटर खाली भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्द्वारा गठित कोभिड १९ पर्यटन व्यवसायी विपत् समन्वय समितिको पहलमा ठमेल क्षेत्रका ३५० व्यवसायी र घरधनीबीच भाडा छुटको समझदारी भएको समितिका संयोजक भवी शर्माले जानकारी दिनुभयो । उहाँले ठमेल क्षेत्रको व्यवसाय, व्यवसायी तथा घरधनीलाई जोगाउन सञ्चारलगायत सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

बन्दाबन्दीका कारण तीन महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका छन् । ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीहरुले बन्दाबन्दी शुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्ष सम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युत्को युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ठमेल क्षेत्रमा २०० भन्दा बढी घरधनी र १० हजार व्यवसायी रहेको बताइएको छ ।

सम्झौतामा हस्ताक्षर गर्ने संस्थाहरुमा परिषद्, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ र नेपाल एसोसिएशन अफ ¥याफ्टीङ एजेन्सी, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, टुरिष्ट बस एसोसिएशन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी सङ्घ नेपाल, कैलाश यात्रा सङ्घलगायत छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु