श्री स्वस्थानी व्रत कथा आरम्भ, शाली नदीमा भक्तजनको भिड

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २० पुस, २०७१

काठमाडौँ । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रतका लागि भक्तजनहरुको घुईचो लागेको छ । । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ ।
मनोकाङ्क्षा पूरा हुने प्राचीन जनविश्वासले नै सर्वसाधारणको स्वास्थानी व्रतप्रतिको आकर्षण भएको पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए ।

मध्याह्नकालमा स्वस्थानी देवीको पूजाआजा हुने भएका कारण आज र भोलि दिन पूर्णिमा तिथि परे पनि आज मध्याह्नकालमा पूर्णिमा तिथि परेका कारण आजैदेखि व्रत आरम्भ हुने भएको गौतमले जानकारी दिए । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको पाणिनी ज्योतिष उमानाथ पोख्रेलको भनाइ छ । पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत आरम्भ गरिने र एक महिनासम्म मध्याह्नको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा–आराधना गरिने प्रचलन रहेको उनले बताए ।

उनका अनुसार व्रतालुहरूले पूजा–आराधनापछि स्वस्थानीको माहात्म्य वाचन र श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि शारीरिक एवम् मानसिक रूपमा शुद्ध बनी मध्याह्नकालमा एकपटक मात्र भोजन गर्ने गर्छन् । विधिपूर्वक व्रत नबस्नेले पनि आ–आफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवम् श्रवण गर्दछन् । स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थल विशेषगरी काठमाडौँभित्रै रहेका छन् । कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येश्वरी, गोकर्र्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, बागमती नदी, शाली नदीजस्ता क्षेत्र यहीँ पर्ने हुनाले पनि नेपाली समाजमा यसले बढी महत्व पाएको सापकोटाको भनाइ छ । राजधानीदेखि १७ किलोमिटर उत्तर पूर्वमा रहेको प्राचीन नगर शङ्करापुर (साँखु) मा रहेको शाली नदी किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा छ । स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शाली नदीमा एक महिनासम्म मेला लाग्दछ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७