काठमाडौं । सरकार परिवर्तनको चर्चा चल्दै गर्दा पूर्व माओवादी केन्द्रका नेताले यो पार्टी एकता विरोधी कार्य हुने बताउनु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार गर्न नसकिने बताउनु भएको छ । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नरहेको उहाँले प्रस्ट पार्नुभएको हो ।

आइतबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो बयान दिनु भएको हो । अहिले नेपालमा जारी राजनीतिक गतिविधिलाई सबै नेपाली जनता, नेकपाका नेता–कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको पनि उहाँको बुझाई रहेको छ ।

नेकपामा देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृद्धिको एजेण्डाभन्दा पनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको जनाउनुभयो ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई जनताले सरकारमा पठाएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

रायमाझीले लामो समयपछि नेपाली जनताले दिएको दुई तिहाई बहुमतको अपमान गर्न नहुने बताउनु भएको छ । रायमाझीका अनुसार दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढेको छ ।

अहिले नेकपासँग जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने राम्रो अवसर छ । तर, नेकपाले जनताका अपेक्षा पूरा गर्नेगरि काम गर्न सकेको छैन ।

उहाँले विगतका सरकारभन्दा अहिले राम्रा काम भएको पनि खुलासा गर्नुभयो । अहिले केही नेताहरुको निजी स्वार्थका कारण पार्टी एकताका अधुरो काम पनि ओझेलमा परेको उहाँले गुनासो गर्नुभयो ।

उहाँले सिंगो देश कोरोनाको महामारीविरुद्ध लडिरहेको, सीमा विवादमा सिंगो राष्ट्र एकजुट भएको उल्लेख गर्दै अहिले सरकार परिवर्तनको कुरा गर्नु दुःखद् भएको टिप्पणी गर्नुभयो ।

रायमाझीले सरकारलाई परिणाममुखी बनाउनको लागि छलफल आवश्यक भएको भए पनि परिवर्तन नै गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभएको छ ।

रायमाझीका अनुसार यो समयमा सरकार परिवर्तन गर्नुको तुक छैन । अहिले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुने उहाँको बुझाई रहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु