काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)द्वारा आज आयोजित ‘कोभिड–१९ र श्रमको संसार ः उन्नत श्रमको निर्माण’ विश्व सम्मेलनलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्र्दै उहाँले पर्याप्त सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको प्रावधान पनि उनीहरुको सुरक्षाका निम्ति उत्तिकै महत्वपूर्ण हुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा लगानी र व्यापारमा भएको गिरावट तथा यात्रा उद्योगमा उत्पन्न व्यवधानले विश्व अर्थतन्त्रलाई ठूलो आघात पुगेको बताउँदै त्यसबाट दशौँ लाख श्रमिक र उद्योग प्रभावित भएको यथार्थ प्रस्तुुत गर्नुभयो । “कोभिड–१९ को प्रभाव कम आय भएका र अल्पविकसित राष्ट्रमा अधिक परेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मानव केन्द्रित सम्मानजनक श्रमप्रति ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रसङ्घ र आईएलओजस्ता त्यसका विशिष्टिकृत निकायहरुले विश्वव्यापी महामारीलाई मुख्य मुद्दा मानेर विश्वव्यापी रुपमा नै सुदृढ प्रतिकार्य अघि बढाउन अपरिहार्य भएको बतानुभयो ।

रोजगारी र आम्दानीको सुरक्षाबिना नै महामारीकाबीच निराश भएर श्रमिकहरु घर फर्किएका बताउँदै उहाँले विश्व स्वास्थ्य सङ्गठनका मान्यताको पालना गरेको भए त्यस्तो परिस्थिति उत्पन्न हुँदैनथ्यो भन्नुभयो । “सङ्कटको घडीमा नै मानवताको परीक्षण हुन्छ, अति कठिन क्षणमा हाम्रो विवेकले नै न्याय र निष्पक्षतालाई मार्ग निर्देश गर्छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले ओलीले अन्तर्राष्ट्रिय ऐक्यबद्धताले रोजगारीको क्षयलाई बचाउने, आप्रवासी कामदारको फिर्ती र दिगो विकासका लक्ष्य हासिलका दिशामा भएका प्रगतिलाई पछाडि धकेलिदिँदा गरिबी बढ्ने बताउनुभयो ।

उहाँले कोभिड–१९ को महामारीको प्रभावको रोकथाम तथा औपचारिक एवं अनौपचारिक क्षेत्रका श्रमिकहरुको सुरक्षाका निम्ति नेपाल सरकारले अपनाएका तत्कालिन र मध्यकालीन उपायका साथै दिगो रोजगारीका अवसर सृजनाबारे पनि जानकारी दिनुभयो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु