काठमाडौ । सल्यानको कपुरकोट गाउँपालिका¬ ३ मा ६ मिटर जमीन भासिएको छ । यही कारण बजारकै छेउमा रहेका घर ढल्केका छन् । सन्त्रासमै ढल्केको घरमा करीब ६ वर्षअघिदेखि व्यवसाय सञ्चालन समेत स्ञ्चालन हुँदै आएको छ । कपुरकोट¬–३ मा रहेको खारा पहिराले यहाँका करीब सयभन्दा बढी घरधुरीलाई जोखिमले पिरोलिइरहेको वर्षांै बितेको छ । उनीहरुले यस ठाउँ छोडेर न त कतै अन्त जान सके न राज्यले कुनै वैकल्पिक व्यवस्थापका लागि पहल गरेको छ । पहिराले यहाँको विद्यालयसमेत भासिएपछि विद्यालयलाई स्थानान्तरण गरिएको छ भने भासिएको करीब एक किलोमिटर सडकको हाल अहिलेसम्म उस्तै रहेको छ ।

 

 

पहिरो रोकथामका लागि तीन वर्ष पहिलेदेखि सानोतिनो कार्य गरिरहेको भए पनि पर्याप्त नहुँदा पहिरो रोकिने त कुरै भएन । त्यही बनाउन लागेका संरचनाहरुसमेत बर्सेनी बगाउँदै लगेको छ । खारा पहिरामा वर्षातमा मात्र हैन सुख्खा याममा समेत पहिरो जाने गरेको कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो रोकथामका लागि सानातिना प्रयास भइरहेका छन् तर पनि यस प्रयासले पहिरो रोकिने छाँटकाँट देखिँदैन । एकातिर बनाउँछाँै अर्कोतिर बगाउँछ, यही लुकामारीले पहिरो थामिने अवस्था छैन ।” जमीन भासिएकै क्षेत्रफलबाट पहिरो गएमा तुलसीपुर उपमहानगर पालिकाको पातुखोला क्षेत्रमा धनजनको क्षति हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

 

 

 

अहिलेसम्म पहिरो रोकथामका लागि रु तीन करोड ८० लाख खर्च भइसक्दा पनि पहिरो रोकिने छाँटकाँट छैन, पहिरोकै कारण खेतीयोग्य जमीनसमेत भासिएपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तिलकबहादुर सेन ठकुरीले भन्नुभयो, “२०५२ सालदेखि पहिराको रोकथामका लागि प्रयास गरेका हौँ, यहाँको माटो नुनिलो भएकाले जाली छिट्टै गल्ने भएकाले रोकथाममा समस्या भएको छ ।” पहिराको रोकथाममा लाग्नुभन्दा पनि अब राज्यले जोखिममा रहेको बस्तीलाई अन्यत्रै स्थानान्तरण गरेमा पहिराको सन्त्रास नहुने उहाँको भनाइ छ ।

 

 

जिल्लामै कपुरकोट क्षेत्रमा बढी पानी पर्ने भएकाले पनि पहिराको त्रास बढी भएको स्थानीयवासी पूर्णबहादुर वलीले भन्नुभयो, “ठूलो पानी परेको दिन रातभरि निन्द्रा लाग्दैन दिउँसो त भागेर बाँचिएला जस्तो लाग्छ तर रातिमा पहिरो गए बालबच्चा लिएर काता जानु ।”
कपुरकोटको खारा पहिरामा सङ्घीय सरकार समेत जानकार भएकाले यसका बारेमा सोच्नुपर्ने अवस्था आएको कपुरकोट गाउँपालिका¬–३ का वडाध्यक्ष मीनबहादुर सेनले बताउनुभयो । “कपुरकोट बजारमै हेर्नुस् जमीन सात मिटर तल भासिएको छ, कति जोखिम छ भन्ने कुरा यहाँहरुले नै देख्नुभएको छ”, उहाँले भन्नुभयो ।

 

गाउँपालिकाले पहिराका कारण भत्किएका घरहरुमा नबस्न पटकपटक सार्वजनिक सूचना जारी गरे पनि स्थानीयवासीले नमानेको उहाँको भनाइ छ । “हामीले धेरै पटक उहाँहरुलाई जोखिमपूर्ण घरहरुमा नबस्न सूचना जारी गरेका छौँ तर यसका लागि स्थानीयवासीले मान्नु भएन”, उहाँले भन्नुभयो ।

 

अब पहिरो रोकथाममा बजेट खर्च गर्नुभन्दा पनि यहाँका पीडित परिवारहरुलाई स्थानान्तरणको योजना बनाउन आवश्यक भएको उहाँको भनाइ छ । “यही सडकबाट धेरै पटक राज्यका जिम्मेवार व्यक्तिहरु ओहोरदोहोर गरिरहेका छन् तर बजार नै भासिँदा पनि ध्यान जान सकेको छैन पहिरो गएमा यहाँ ठूलो धनजनको क्षति हुने अवस्था छ”, उहाँले भन्नुभयो ।

 

खारा पहिरामा नै जग्गा र घर भएकाहरु बढी प्रभावित भइरहेका छन् । जमीनमा ठूलाठूला चिरा परेकाले पनि कतिबेला पहिरो जान्छ भन्ने डरले स्थानीयवासीलाई सन्त्रास बनाउँदै आएको छ । पहिलेको भन्दा पहिरो रोकथामका कारण कम भए पनि ढुक्क भएर बस्न सक्ने अवस्था नभएको स्थानीयवासीको भनाइ छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु