बीबीसी । फ्रान्सको एउटा गुफामा भेटिएको एउटा पुरानो डोरीको टुक्राले आदिमानव नीयान्डर्टालको सङ्ज्ञानात्मक क्षमता आधुनिक मानवजातिको भन्दा कम थियो भन्ने मान्यतालाई चुनौती दिने देखिएको छ। उक्त डोरी ५०,००० वर्ष पुरानो हो र अहिलेसम्म भेटिएकोमध्ये सबैभन्दा प्राचीन हो। वैज्ञानिक जर्नल 'साईअन्टिफिक रिपोर्ट्समा प्रकाशित एउटा अध्ययनका अनुसार अब्रि डि मारस क्षेत्रको गुफामा ढुङ्गाबाट बनेको एउटा औजारमा रूखको बोक्राबाट बनेको उक्त डोरीको टुक्रा फेला परेको थियो र उक्त डोरी तीनसूते थियो।

 

[caption id="attachment_283809" align="aligncenter" width="800"] डिजिटल सूक्ष्मदर्शकयन्त्रबाट खिचिएको डोरीको तस्बिर[/caption]

 

यसको अर्थ के हो भने नीयान्डर्टाल मानवलाई जोडी र सङ्ख्याको ज्ञान थियो। बुनिएका रेसा कपडा, झोला, जाली र डुङ्गा बनाउने आधार हुन्। नीयान्डर्टाल मानव झन्डै ४०,००० वर्षअघि लोप भएका थिए। उनीहरूले भोजपत्रको बोक्राबाट मोसो, चित्रकला र सिपीको माला बनाउने गरेका थिए। उनीहरू आगो पार्न र निभाउन सक्थे तथा सुरक्षित रूपमा आवास गर्थे। उनीहरूसँग ठूला वन्यजीवको सिकार गर्ने सीप थियो र उनीहरू आफन्तको शवलाई गाड्थे।

[caption id="attachment_283810" align="aligncenter" width="800"] ढुङ्गे औजार गुफाभित्र भेटिएको थियो[/caption]

 

पुरातत्त्वविद् र पुरामानवशास्त्रीले अब्रि डि मारसजस्ता स्थानमा अन्य जीवका अवशेष वा ढुङ्गे औजार मात्र फेला पारेका छन्। कुहिएर नष्ट हुने सामग्री प्राय: भेटिएको छैन। तर फ्रान्स, अमेरिका र स्पेनका अनुसन्धानकर्ताको टोलीले झन्डै साढे दुई इन्च लामो ढुङ्गे औजारमा डोरीको टुक्रा फेला पारे। कोनिफर जातको रूखको बोक्राको भित्री भागबाट रेसा निकालेर डोरी बनाइएको विश्वास गरिएको छ। उक्त टुक्रा ६.२ मिलिमिटर लामो र ०.५ मिलिमिटर चौडा छ।

 

[caption id="attachment_283811" align="aligncenter" width="800"] डोरीको टुक्रा ६.२ मिलिमिटर लामो र ०.५ मिलिमिटर चौडा छ[/caption]

 

रेसालाई तीनवटा सूत्रमा बाटेर S आकारमा दाहिनेपट्टि घुमाइएको छ। एकचोटि घुमाएपछि ती सूत्रलाई उल्टो दिशामा बाटेर डोरी बनाइएको छ। त्यसरी बनाइएको डोरीले नीयान्डर्टाललाई आफूवरिपरिको पारिस्थितिक प्रणाली र वनस्पतिको राम्रो ज्ञान भएको तथा तिनलाई उपयोग गर्ने क्षमता भएको देखाएको उक्त शोधमा उल्लेख गरिएको छ। डोरी बाट्ने कामका लागि एकैचोटि धेरै र क्रमबद्ध गतिविधि आवश्यक हुन्छ।

 

डोरी बाट्ने क्रियाले उनीहरूमा सङ्ख्याको ज्ञान र विशेष परिस्थितिमा आवश्यक कार्यगत स्मरणशक्ति भएको देखाएको पनि उल्लेख छ। नीयान्डर्टालका कला र प्रविधिबारे नयाँ कुराहरू थाहा हुन थालेपछि नीयान्डर्टाललाई आधुनिक मानव समान ठानेर नहेर्न कठिन हुने उक्त अध्ययनमा उल्लेख छ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु