काठमाडौ । महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले अमेरिकाको स्ट्यानफर्ड विश्वविद्यालयसँगको सहकार्यमा अत्यधिक सस्तो मूल्यमा भेन्टिलेटर निर्माणको काम अघि बढाएको छ। पुनले दिएको जानकारी अनुसार ‘यो भेन्टिलेटर स्ट्यानफर्ड विश्वविद्यालयको एउटा टोलीले विकास गरिरहेको छ। त्यही विकसित रुप आविस्कार केन्द्रले पनि उहाँहरूको सहयोगमा भेन्टिलेटर निर्माण गरिरहेको छ।’ उनका अनुसार सफल रूपमा उत्पादन पूरा भएपछि यो भेन्टिलेटरको लागत एक लाख रुपैयाँ मात्र हुनेछ। अहिले सामान्य भेन्टिलेटरलाई पनि कम्तिमा २० लाख रुपैयाँ पर्छ।

 

यो भेन्टिलेटरको उत्पादन सफल भए पनि बजारमा आउन भने धेरै चरण पार गर्नुपर्नेछ। स्ट्यानफर्ड विश्वविद्यालयले भेन्टिलेटर विकास गरिरहेको भए पनि प्रयोगमा भने ल्याएको छैन। विश्वविद्यालयले उक्त भेन्टिलेटर उत्पादन गरेपछि अमेरिकास्थित ‘फुट एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)’ बाट स्वीकृत गराउनुपर्छ। अहिले उक्त भेन्टिलेटर परीक्षण चरणमै छ। यो भेन्टिलेटरले अन्य भेन्टिलेटरले जस्तै काम गर्ने दाबी गरिए पनि अहिलेसम्म प्रमाणित भने भइसकेको छैन।

 

 

आविस्कार केन्द्रले यो भेन्टिलेटर कम्तिमा दुई हप्तामा तयार गर्ने गरी काम गरिरहेको छ। त्यसका लागि स्ट्यानफर्ड विश्वविद्यालयले भेन्टिलेटरका लागि आवश्यक पर्ने ‘सेन्सर’ र मोडल पठाइसकेको र सोही अनुसार काम अघि बढेको पुनले बताए। ‘दुई हप्तामा भेन्टिलेटर तयार गर्ने गरी काम गरिरहेका छौं। त्यसपछि चिकित्सकको टोलीलाई देखाउँछौं। उहाँहरूले सुधार गर्नु भनेका कुरा सुधार गर्छौं,’ उनले भने। नेपालमा पनि यो भेन्टिलेटर प्रयोगमा ल्याउनुअघि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनुपर्छ। पुनले पहिले अमेरिकामा यसले मान्यता पाएपछि नेपालमा यसको स्वीकृति लिने प्रक्रिया सुरू गरिने जनाए।

 

यो भेन्टिलेटर निर्माण गर्न एक महिनाअघि स्ट्यानफर्ड विश्वविद्यालय र राष्ट्रिय आविस्कार केन्द्रबीच कुरा भएको पुनले बताए। ‘भेन्टिलेटरका लागि चाहिने मुख्य सेन्सर र मोडल हामीलाई पठाइदिनु भएको छ। अरू चिज यहीँ डिजाइन गर्ने हो,’ उनले भने। अमेरिकी विश्वविद्यालयले गरिब मुलुकहरू लक्षित गरेर उक्त भेन्टिलेटर विकास गरेको पुन बताउँछन्। अहिले विश्वविद्यालयले भारतसहित सात मुलुकमा सहकार्य गर्दै भेन्टिलेटर निर्माण गरिरहेको उनले जनाए।

 

यो भेन्टिलेटर विकास राम्रो भयो र यसले मान्यता पायो भने आविस्कार केन्द्रले पनि धेरै संख्यामा उत्पादन गर्ने जनाउँदै पुनले भने, ‘यो सस्तो छ। सरकारी र निजी अस्पताल सबैलाई चाहिन्छ। कोरोना महामारीपछि पनि यसको आवश्यकता पर्छ।’ अहिले आविस्कार केन्द्रमा भेन्टिलेटर निर्माणका लागि चार जनाको टोलीले काम गरिरहेको छ। यसले कस्तो काम गर्छ भन्नेमा केन्द्र स्पष्ट भने छैन। पुन भन्छन्, ‘अहिले परीक्षणकालमै रहेकाले कस्तो हन्छ भन्ने थाहा छैन। यद्यपी अरू भेन्टिलेटरले गर्ने सबै काम गर्ने भनिएको छ। अहिले सबै कुरा अनुसन्धानकै चरणमा रहेकाले केही भन्न सकिँदैन।’

 

सिकिस्त बिरामीलाई सास फेर्न कठिन भयो भने भ्यान्टिलेटरले श्वासप्रस्वास प्रक्रियामा सघाउ पुर्‍याउँछ। अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेका सबै मुलुकमा यसको व्यापक प्रयोग छ। कोरोनाले श्वासप्रश्वासमा समस्या पार्ने भएकाले यसको उपचारको लागि भेन्टिलेटर महत्वपूर्ण मानिन्छ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु