काठमाडौं । साढे ३ महिना लामो लकडाउनपछि आजदेखि मयूर, संयुक्ता यातायातले बस चलाउन थालेको छ । भोलीदेखि विद्युतीय बस र साझा यातायात सहकारी संस्थालेपनि साझा बस चलाउने भएको छ । आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकाभित्र अधिकांश बस चल्ने संकेत छ । चल्न थालेका बसका लागि स्वास्थ्य–सुरक्षाका मापदण्ड तोकेको छ । हालै सरकारले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालन गरी सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो ।

सरकारको निर्णयअनुसार गत शुक्रबारदेखि नै सार्वजनिक यातायातका गाडी गुड्न सक्थे । तर व्यवसायीहरूले सरकारले आफ्ना माग सुनाइ नै नगरी एकपक्षीय निर्णय गरेको आरोप लगाएका थिए । सरकारले काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्लामा र उपत्यकाबाहिर एउटा जिल्लाभित्र मात्र चलाउन पाउने निर्णय गरेको थियो ।

व्यवसायीहरूले भने गाडी निकालेका छैनन् । सार्वजनिक यातायातमा निजी क्षेत्र मात्र छ । सरकारसमेत अंशियार रहेको साझा यातायातले भने उपत्यकाभित्र गाडी चलाउने निर्णय गरेको थियो । त्यो भन्दा अगाडी नै व्यबसायीहरुको साझा संस्थाले गरेको निर्णयको अवज्ञा गर्दै केही नीजि कम्पनीले बस निकाल्न थालेका छन् । साउन १ गतेदेखि उपत्यकाभित्र साझा यातायात सञ्चालन गर्ने तयारी भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधारले जानकारी दिए ।

‘सकेसम्म केही बसहरू १ गते सञ्चालन गर्ने तयारीमा छौँ,’ उनले भने, ‘त्यही दिन नचल्न पनि सक्छ तर चाँडै सञ्चालन हुन्छ ।’ साझा यातायातका केही बसहरू लकडाउनकै अवधिमा पनि प्रयोग भएका छन् ।विदेशबाट हवाई उद्धार गरिएकाहरूलाई विमानस्थलबाट होल्डिङ सेन्टर पु¥याउन साझा बस प्रयोग गरिएका छन् । तुलाधरका अनुसार साढे ३ महिना थन्किएर बसेका गाडी मर्मत गर्नुपर्ने अवस्था छ । ‘पहिले गाडी मर्मत गर्नुपर्छ, लामो समयदेखि थन्किएर बसेका छन्,’ उनले भने, ‘चालक र सहचालक गाउँबाट फर्किएका छैनन्, उनीहरूलाई कसरी फर्काउने हो, त्यो पनि सोच्नुपर्नेछ ।’ अहिले साझा यातायातसँग कुल ७१ वटा बस छन् । यीमध्ये ६८ वटा काठमाडौं उपत्यकाभित्र र ४ वटा लामो दूरीमा चल्ने गरेका छन् ।

गाउँ गएका चालक र सहचालक फर्किन बाँकी रहेकाले तत्काल कतिवटा बस चलाउने भन्ने टुंगो हुन बाँकी रहेको तुलाधरले बताए । साझाले यात्रुसंख्या, मास्क, पञ्जा, स्यानीटाइजर लगायतका मापदण्ड पूरा गरेरमात्र बस चलाउने पनि उनले बताए । तुलाधरले भने, ‘बसभित्र मात्र होइन चढ्दा र ओर्लिंदा पनि दूरी कायम राख्नुपर्छ । साझा बसमा यात्रु चढ्ने र ओर्लिने छुट्टाछुट्टै ढोका छन्, सरकारले तोकेको मापदण्डअनुसार बस चल्छन् ।’

यात्रुको भिड लाग्ने समयमा पनि मापदण्डअनुसार सामाजिक दूरी कायम गराएर व्यवस्थित तरिकाले मात्रै बस चलाउने तुलाधरले बताए । उनका अनुसार आधामात्रै यात्रु बोक्न पाइने भएपछि भाडादरबारे पनि छलफल भइरहेको छ । सरकारले साविक भाडा दरमा ५० प्रतिशत बढी लिन अनुमति दिएको छ । तर सुन्दरको विद्युतीय बसले भने पुरानै भाडा दरमा बस चलाउँने निर्णय लिएको छ ।

यस्तो छ सुरक्षा मापदण्ड

  • काठमाडौं उपत्यकाभित्र ट्याक्सीमा चालकसहित तीन जनामात्र र एकै परिवारका सदस्य भए पाँच जनासम्म यात्रा गर्न पाइनेछ ।
  • सामाजिक दूरी कायम गर्नुपर्नेछ र सिट क्षमताको आधामात्र यात्रु बोक्नुपर्नेछ ।
  • सवारीसाधनमा अनिवार्य रूपमा स्यानिटाइजर राख्नुपर्नेछ ।
  • चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु