नवलपरासी । नारायणी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। मंगलबार बिहान ४ बजे ३ लाख ३२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन भएको गण्डक जलमापन केन्द्र बाल्मिकीनगरले जनाएको छ। नारायणीमा पानीको बहाव बढेसँगै यसले जोखिमको तह पार गरेको छ। ३ लाख क्युसेकलाई जोखिमको तह मानिन्छ। जलमापन केन्द्रका अनुसार ४ लाख प्रतिसेकेण्ड क्युसेक पानीको बहाव उच्च जोखिम मानिन्छ। पानीको सतह बढेपछि राति ब्यारेजका सबै ढोका खोलिएको छ।

 

ढोका बन्द गर्दा ब्यारेज नै जोखिममा पर्ने भएकाले पानीको बहाव बढेसँगै ढोकाहरु खोल्ने गरिएको छ। पानीको बहाव बढेर २ लाख ६५ हजार क्युसेक पुगेसँगै नेपाल हुँदै भारत जाने भारतीय नहर, नेपाली नहर र भारततर्फको नहर पूर्ण रुपमा बन्द गरिएको छ। निरन्तर बहाव बढेसँगै नारायणी तटीय क्षेत्रका बासिन्दाहरु डुबानमा परिने डरले रातभर जागाराम बस्न थालेका छन्। कतिखेर बाढी गाउँ पस्ने र घर डुबाउने भन्ने चिन्ताले सताउँदा रातभर जागाराम बस्नुपर्ने अवस्था रहेको नारायणीपारि सुस्ताका कमल हरीजन बताउँछन्। पटक पटक डुवानको चपेटामा पर्ने गरेका सुस्ताबासी आकासमा कालोबादल मडारीनासाथ अतालिन थाल्छन्।

 

बाढी पसेपछि डुवान हुने चिन्ता एकातर्फ छ भने अर्कोतर्फ अन्नतपात लत्ताकपडा बगाएर लगिदिए भोकै र नाङ्गै बस्नुपर्ने चिन्ता पनि उनीहरुमा रहेको छ। कतै निदाएको समयमा सबैलाई बाढीले बगाएर लैजाने हो कि भन्ने पनि उत्तिकै डर रहेको सुस्ताका रविन्द्र जैसवाल बताउँछन्। डुबानको जोखिम बढेपछि सुस्ता गाउँपालिकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

 

डुबानको उच्च जोखिममा रहेका स्थानीयहरुलाई अन्नपात, धनमाल र महत्त्वपूर्ण कागजात सबै सुरक्षित स्थानमा राख्नका लागि आग्रह गरिएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। नारायणीको पानी गाउँ पसेर डुबान हुने अवस्था आए तुरुन्त उद्धारका लागि विपदको टिम तयारी अवस्थामा रहेको पनि पाण्डेले बताएका छन्। सुस्ता मात्र होइन नारायणीको पानी गाउँ पसे सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकाका ४० भन्दा बढी गाउँहरु डुबानमा पर्ने खतरा रहेको छ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु