काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीले भगवान राम नेपालमै जन्मिएका हुन् भन्ने अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न आग्रह गरेका छन् । यसले हिन्दू अनुयायीलाई चोट पुर्‍याएको गौतमको ठहर छ । प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा अयोध्या नेपालको ठोरीमा पर्ने भन्दै अभिव्यक्ति दिएका थिए । त्यसले भारतमात्र नभएर नेपाल पनि तरंगित हुन पुगेको छ ।

उपाध्यक्ष गौतमले दुई वर्षअघिको घटना सम्झिँदै फेसबुकमा लेखेका छन् । त्यतिबेला बालुवाटार गएका बेला प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै पर्छ भनेर प्रसंग निकालेको र आफूले बिना तथ्य नबोल्न सल्लाह दिएको, बोल्नुहोला कि भनेर डर लाग्दालाग्दै पनि बोलिहालेको भन्दै टिप्पणी गरेका छन् । “नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ ।

आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषयबारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिनाअनुसन्धान, बिनातथ्य–प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो,” उनले लेखेका छन् ।

भगवान् रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरूका लागि केही फरक नपर्ने उनको भनाइ छ । “रामका भक्तहरू नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरूले अन्याय गर्न सक्दैनौं । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रशंसा गरिरहिने छ । संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरू करोडौंको संख्यामा रहेका छन् । उनीहरूको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुष्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिस्टहरू धर्म निरपेक्ष हुन चाहन्छौं,” उनको तर्क छ ।

 

पूर्ण पाठ
नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषयबारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिनाअनुसन्धान, बिनातथ्य–प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।

 

केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँले चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरू जुटाउन, आएका अनुमानहरूको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरूले सार्वजनिक गर्नु पर्दथ्यो ।

 

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहासप्रति हामी कम्युनिष्टहरूले अन्याय गर्न सक्दैनौँ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरूको नेपाल रहँदासम्म प्रशंसा गरिरहिने छ । संसारमा धेरै धर्महरू छन्, धेरै धार्मिक सम्प्रदायहरू छन् र तिनका अनुयायीहरू करोडौंको संख्यामा रहेका छन् । उनीहरूको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर न त राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिस्टहरू धर्म निरपेक्ष हुन चाहन्छौ ।

 

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरूको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।
३० असार, २०७७

सम्बन्धित खबरहरु