काठमाडौं । नेपालमा पछिल्लो समय निकैँ चर्चामा रहेको एक प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले मुख खोलेको छ । प्रधानमन्त्री ओली र श्रीमती राधिका शाक्यको नाममा स्वीस बैंकमा ५५ लाख अर्थात झण्डै ६६ करोड अमेरिकी डलर छ भन्ने समाचार कपोकल्पित र भ्रामक रहेको स्पष्ट पारिएको छ । आज (बुधबार) प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको मानमर्दन गर्ने किसिमका यस्ता समाचार भ्रामक र गलत भएको बताउनुभएको छ ।

 

उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र मानमर्दन गर्न लक्षित झूठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ प्रधानमन्त्रीलाई बदनाम गर्ने किसिमले बनाइएको यस्ता समाचार खेदजनक भएको पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा यस्ता भ्रमपूर्ण समाचार नपत्याउन पनि सम्पूर्ण जनतामा आग्रह गरिएको छ । पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न पनि माग गरिएको छ ।

 

 

प्रेस नोट
ग्लोबल वाच एनालाइसिसको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र मानमर्दन गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।

 

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।

 

आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु