काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले यातायात व्यवसायी र मजदूरका समस्या समाधान गर्न राहतको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । आज यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको हो । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा व्यवसायीहरुले कोरोना भाइरस (कोभिड–१९) पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन् । कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको छ । यहाँ पनि यातायात व्यवसायी र मजदूरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु । बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ ।’ उहाँले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राहत र अनुदानसँग सम्बन्धित कुरा र स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा राज्यले तुरुन्तै गरिदिनु पर्ने बताउनुभयो ।

 

व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था मिलाउन माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु