काठमाडौं । बाह्र हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन नलाग्दै ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताउनुभयो । “चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाइँ हुने छ”, उहाँले भन्नुभयो, “जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा मात्र धान खेती लगाउने गरिएको छ ।”

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् ।

जिल्लाको दिक्तेल, नेर्पा, खार्पा, हौँचुर, दोर्पा चिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिम्पानी, इन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे, खोटाङबजारलगायत ठाउँमा सबैभन्दा बढी धानखेती हुने गरेको छ । सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने तीन हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको छ ।

खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने जिल्लामा गत वर्ष लामो समयसम्म खडेरी जाँदा ४० प्रतिशत खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रको अनुमान छ । दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरी र फौजी किराको प्रकोपले सखाप पारेपछि जिल्लामा भोकमरी शुरु भएको छ ।

गत वर्षको खडेरीले सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दालाई समस्या पारेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा खडेरीका कारण खाद्यान्न सङ्कट भएपछि नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरिद गरेर वितरण गरिरहेको छ । रासस

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु