काठमाडौं । पहिराले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसुर दमाईँले जानकारी दिनुभयो ।

पहिराले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घरको नाजुक अवस्था आएपछि बिहानदेखि बस्तीका सबै घरपरिवार आफ्नो घर छाडेर देउला गैरामा पाल टाँगेर बसेको दमाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले हाम्रो त उठीवास गरायो ।”

माथिबाट आएको सुख्खा पहिराले घर झुण्डिएको अवस्थामा रहेपछि सबै घर खाली गरेर बारीमा सरेका छन् । आफूले लगाएको मकै, कोदो, धान सबै पहिराले छोपेर लगेपछि घर पहिरामा झुण्डिएको अवस्थामा रहेको बताउँदै स्थानीयवासी तुथा परियारले भन्नुभयो, “झुण्डिएको अवस्थामा रहेका घरलाई कतिखेर पहिरोले बगाउने हो भन्ने डर भएपछि दलित बस्तीका सबै घरधुरीले आफ्ना घर खाली गरेका छन् ।”

पहिरामा परेर मानवीय र पशुचौपायाको क्षति नभए पनि प्रतिघर चार हल जग्गा बगाएर लगेको स्थानीयवासी धनसुर परियारले बताउनुभयो । पहिरोस्थलबाट प्रहरी चौकी निकै टाढा भएपछि क्षतिको यकिन विवरण आउन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पहिरो गएर दलित बस्ती जोखिममा रहेको खबर आएपछि कवाडी सीमा प्रहरीचौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाइएको जानकारी दिनुभयो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु