काठमाडौं । प्राचीन राजा मानदेवकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर महादेव मन्दिरमा वर्षौदेखि रोकिएको पूजा विधि पुनः शुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको सक्रियतामा बिहानको नित्य पूजा र बेलुकीको आरतीमा सनै एवं दमाहासहितको बाजा बजाउन शुरु गरिएको हो ।

मन्दिरको नाममा राखिएको ३९६ रोपनी जग्गा रैकर गरेपछि स्रोतको अभावमा बाजा बजाएर पूजा आराधना गर्ने विधि रोकिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

गुठी जग्गालाई रैकर गर्दा राखिएको रकमबाट परम्परागत विधि चलाउन ७० प्रतिशत बजेट छुट्याउने नियम भए पनि सो मन्दिरमा त्यस्तो हुन नसकेको समितिले जनाएको छ । त्यसको खोजबीनका लागि गुठी संस्थान काठमाडौँ जिल्ला शाखालाई पत्राचार गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

परम्परागत विधि पूरा गर्न नगरपालिकाले रु ७५ लाखको अक्षय कोष स्थापना गरेको छ । मन्दिरमा साउनको पहिलो दिन बिहीबार नगर प्रमुख सन्तोष चालिसेले परम्परागत विधिअनुसार पूजा आराधना गर्न शुभारम्भ गर्नुभयो । कान्तिभैरव गुरुकुलका वटुकले वैदिक स्वस्ति वाचनसहित परम्परागत विधिको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख चालिसेले मन्दिरका नाममा भएको गुठी जग्गा रैकर गर्ने बेलाको स्रोतको खोजी गर्न लागिएको जानकारी दिनुभयो । मन्दिरको छानो स्वर्ण लेपले फेरी मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न पनि नगरपालिकाले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

पशुपतिसँग सम्बन्ध जोडिएको गोकर्णेश्वर महादेव मन्दिरलाई व्यवस्थित गर्न नगरपालिकाले अभियान चलाउने जनाइएको छ । पशुपतिनाथको पूर्वोत्तर भागमा वाग्मती किनारमा रहेको गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गरिन्छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुन्छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु