काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले कुलचन्द्र महत्तो र बर्मन बुढाको निधनमा शोक व्यक्त गर्नुभएको छ । उहाँले आज दुई समवेदना पत्र सार्वजनिक गर्दै श्रदाञ्जलि व्यक्त गर्नुभएको हो । नवलपरासी जिल्लाका क्रान्तिकारी कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा महत्तोको आज बिहान हुक्सीकोट गाउँपालिकामा निधन भएको हो ।

 

६८ वर्षीय नेता महत्तो लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । प्रचण्डले शिक्षण पेशा त्यागी क्रान्तिमा समाहित भएका महत्तोको निधनले पार्टीले एक क्रान्तिकारी योद्धा गुमाएको छ भने सिंगो समुदायले अनुभवी नेताको अभाव महशुस गरेको उल्लेख गर्नुभएको छ । प्रचण्डले अगाडि थप लेख्नु भएको छ, ‘जुझारु नेता महत्तोप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

 

 

अर्को तिर रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बुढाको पनि निधन भएको छ । बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो । एक हप्ता अघिदेखि बुढालाई जन्डिसले पनि च्यापेको बताइएको छ । नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको अध्यक्ष प्रचण्डले स्मरण गर्नुभएको छ । शोक सन्देशमा भनिएको छ, ‘सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।

 

 

उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ २०४८ सालमा भएको आम निर्वाचनमा उहाँले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जित्नु भएको थियो । निर्वाचन जितेर काठमाडौं आएपछि प्रतिनिधि सभाको बैठकमा कछाड बाँधेर गएपछि उहाँ खुबै चर्चामा पनि रहनु भएको थियो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु