काठमाडौं । लगातारको वर्षापछि आएको बाढीपहिरोमा परेर ज्यान गुमाएकाहरुका लागि सरकारले राहत घोषणा गरेको छ । सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको हो । मन्त्रिपरिषद बैठकले यसअघि दिइदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धि प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई १ लाखबाट बढाएर २ लाख पुर्‍याएको हो ।

एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई २ लाख र त्यसपछिलाई प्रति मृतक १ लाख रुपैयाँ मात्रै दिइने छ । यस्तै, घरबारविहीनका लागि प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न १ लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा गर्न ५ जनाको परिवार भए १५ हजार र त्यसभन्दामाथि भए २० हजार रुपैया राहत उपलव्ध गराउने निर्णय भएको हो ।

३ वर्षअघि जारी गरिएको प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत, अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार र विस्थापितलाई दैनिक गुजारा चलाउन तत्काल १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ ।

बाढीपहिरो, डुबान र कटानबाट घरबार गुमाएकालाई भूकम्पपीडित सरह अनुदान दिइने पनि निर्णय भएको छ । गृह मन्त्रालयको प्रस्ताव अनुसार मापदण्ड संशोधन गरी राहत वृद्धि गर्ने सम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको थियो ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु