काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै आफ्ना वार्षिक क्यालेण्डर नबिग्रने गरी आफ्नासम्पूर्ण क्रियाकलापमा तीव्रता दिएको छ । त्रिविले तीन महिनाभित्र परीक्षा र त्यसको तीनमहिनामा परीक्षाफल प्रकाशन गर्ने गरी आफ्नो कार्यलाई तीव्रता दिएको हो । गत चैत्र ११ मा कोरोना संक्रमणको संभावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लागु गरेको लकडाउनका कारण स्थगित भएका दुवै प्रणाली (सेमेष्टर र वार्षिक) का परीक्षा सञ्चालन गर्ने पूर्व तयारी तीव्रताका साथ गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले जानकारी दियो ।

केही दिन अघि त्रिविबाट सञ्चालित सम्पूर्ण सेमेस्टरको परीक्षा खुला तरिकाले अनलाइनबाट नै सञ्चालन गर्ने तयारी गरिरहेको पनिकाले लकडाउन खुलेसंगै परम्परागत विधिबाट नै सञ्चालन गर्ने भएको छ । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ तर अब परीक्षा परम्परागत तबर बाटै सञ्चालन गर्छौं ।”, परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, “यसका लागि परीक्षा कार्यातालिका लगायतका अन्य तयारी गरिरहेका छौं, सम्भवत असोज भित्र सबै परीक्षा सक्ने गरी कामलाई तीव्रता दिएका छौं ।”

 

त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले जानकारी दिए । त्रिविले यसपटक विद्यार्थीलाई पायक पर्ने गरी नजिकका क्याम्पसमा परीक्षा केन्द्र राख्ने तयारी गरिरहेको छ । अघिल्ला परीक्षामा विद्यार्थी १२–१५ किलोमिटरभित्र परीक्षा दिन जानु पथ्यो भने यस पटक भौगोलिक रुपमा पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गरिने भएको छ । त्रिविले गत चैत ७ गतेदेखि सञ्चालन भइरहेका तथा सञ्चालनको सम्पूर्ण कार्य सकेका स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा स्थगित गरिएको थियो ।

यसैगरी पनिकाले बन्दाबन्दीका कारणले रोकिएका परीक्षाफल धमाधम प्रकाशित गरिरहेको छ । पनिकाले बन्दाबन्दीका बिच गत वैशाख २० गतेदेखि कार्यालयका कर्मचारीलाई कार्यालयमा उपस्थित गराएर परीक्षाफल धमाधम प्रकाशन गरिरहेको छ । नियन्त्रक जोशीका अनुसार स्नातकोत्तर तहका १२ विषय, कानून सङ्काय, मानविकी र व्यवस्थापनको स्नातक तहको प्रथम वर्षको परीक्षाफल प्रकाशन गर्न बाँकी छ ।

पनिकाले सबै परीक्षाफल प्रकाशित गरेर परीक्षा गर्ने र ती परीक्षाको पनि तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको छ । अहिलेको अवस्थामा त्रिविको वार्षिक क्यालेन्डर मिलाउने गरी परीक्षा सञ्चालन गरी र परीक्षाफल प्रकाशन गरिने तयारी गरिएको नियन्त्रक जोशीले जानकारी दिए ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु