काठमाडौं । सरकारले लकडाउन हटाएसँगै विश्वविद्यालयहरूले धमाधम परीक्षा तालिका सार्वजनिक गर्न थालेका छन् । आगामी भदौ पहिलो सातादेखि परीक्षा लिने गरी विश्वविद्यालय र डिन कार्यालयहरूले स्थगित भएका परीक्षा सुचारु गर्न तालिका सार्वजनिक गरेका हुन् । धेरै विद्यार्थी संख्या रहेको त्रिभुवन विश्वविद्यालयले सेमेस्टरको परीक्षासम्बन्धी निर्णय गर्ने अधिकार डिन कार्यालय र वार्षिक परीक्षाको परीक्षा नियन्त्रण कार्यालयलाई निर्णय गर्ने अधिकार दिएको थियो ।
लकडाउन खुलेसँगै केही डिन कार्यालयले स्थगित भएका परीक्षाको तालिका सार्वजनिक गरिसकेका छन् । त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान र कृषि र पशुविज्ञान अध्ययन संस्थानले ७ भदौबाट परीक्षा लिने गरी तालिका सार्वजनिक गरेका छन् । इन्जिनियरिङले ७ साउनमै निर्णय गरी स्नातकोत्तर तहको ७ भदौ र स्नातक तहको १५ भदौबाट परीक्षाको तालिका सार्वजनिक गरेको छ । त्यसैगरी, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले समेत भदौ पहिलो सातादेखि विभिन्न सेमेस्टरको परीक्षाको तालिका सार्वजनिक गरेका छन् ।
अरू केही अध्ययन संस्थान र परीक्षा नियन्त्रण कार्यालयको परीक्षा केन्द्र एउटै क्याम्पस भएकाले तालिका मिलाउन छलफलमा जुटेका छन् । एउटै क्याम्पसमा स्नातक, स्नातकोत्तर तहको पढाइ हुने र परीक्षा केन्द्रहरूसमेत पर्ने भएकाले समय मिलाउन छलफलमा जुटेका छन् । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दसैँअगाडि सबै परीक्षा सक्ने गरी तयारी भएको बताए । वार्षिक प्रणालीका परीक्षा भदौ अन्तिम सातादेखि सुरु गर्ने गरी तयारी भएको र डिन कार्यालयहरूसँग छलफल भइरहेको बताए । एकैदिन दुई सिफ्टमा परीक्षा लिएर पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
वार्षिक प्रणालीका आठवटा परीक्षा कोभिड–१९ का कारण स्थगित भएका थिए । जोशीका अनुसार स्नातकोत्तर तह प्रथम वर्ष, स्नातक चौथो वर्ष र एलएलबी दोस्रो वर्षमा धेरै विद्यार्थी संख्या छ । ‘सेमेस्टर र वार्षिक प्रणालीको परीक्षा एकैठाउँमा हुने भएकाले समय मिलाउन छलफल भएको छ, एकरदुई दिनमा तालिका आउँछ,’ उनले भने । गत ६ चैतबाट सबै शैक्षिक संस्था बन्द र सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए ।
एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन एक-दुई दिन मात्र बाँकी थियो । इन्जिनियरिङलगायतमा यस्तो समस्या छ । काठमाडौं विश्वविद्यालयले सेमेस्टर प्रणालीमा असर नपर्ने गरी शिक्षकले गरेको आन्तरिक मूल्यांकनका आधारमा विश्वविद्यालयका विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरी कार्यान्वयमा लागेको छ । त्रिविको ४ साउनमा बसेको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको बैठकले आगामी भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी निर्णय गर्ने अधिकार डिन कार्यालयहरूलाई दिएको थियो । त्रिविको परीक्षा फारम भरिसकेका विद्यार्थीको र लकडाउनको अवस्था हेरेर निर्णय गर्न सक्ने गरी निर्णय लिने अधिकार दिएको थियो । नयाँ पत्रिका दैनिकबाट
सबैको जानकारीका लागि सेयर गर्नुहोस !!