काठमाडौं । बालबालिकालाई लगाउने खोपको अभाव भएको महिनौं बित्न लाग्दा पनि सरकारी स्तरबाट पहल हुन सकेको छैन ।

जन्म भएको दीन देखि नौ महिना पुग्दा सम्म विभिन्न समयमा लगाइने खोपको अभावमा देशभरका बालबालिकालाई खोप लगाउन पाइएको छैन । खोप खरिद प्रक्रियामा सरकारी तहबाटै गोलमाल भएपछि दाताहरुले कडाइ गरेका हुन् ।

कर्मचारी देखि राजनीतिकर्मीसम्मले खोपका नाममा राजनीति गरेर करोडौं घोटाला गरेको भन्दै दाताहरुले कार्यक्रम रोकेका छन् ।

देशभर झण्डै डेढ महिनादेखि खोपको अभाव देखिए पनि तत्काल आपूर्ति सम्भव नभएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बालबालिकालाई जन्मेको एक महिनाभित्र लगाउने पहिलो खोप बिसीजी र नौ महिना पुगेपछि लगाईने एमआर भ्याक्सिनको अभाव छ ।

बिसीजीले क्षयरोग प्रतिरोधक क्षमता बढाउँछ भने नौ महिनामा दिइने खोपले दादुर र रुवेला हुनबाट बालबालिकालाई जोगाउँछ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीका अनुसार अहिले खोप खरिद प्रक्रियामा दाताहरुले कडाई गरेकाले तत्काल आपूर्ति हुने सम्भावना छैन ।

यूनिसेफले ग्लोबल टेण्डर आह्वान गरी नेपाल सहित भारत, बंगलादेश लगायत राष्ट्रमा खोप पठाउने गरेको छ ।

तर नेपालले बेलैमा खोपका लागि पहल नगर्दा समस्या भएको उनले बताए । नेपाल सहित भारत बंगलादेशमा पनि खोप कार्यक्रममा अनियमितता भएको पाईएपछि दाताले अहिले कडाई गरेको बताईएको छ । तर स्वास्थ्य मन्त्रालयले भने जति सक्दो छिटो खोप आपूर्ति गर्ने दाबी गरेको छ ।

सम्बन्धित खबरहरु