सिड्नी । अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जंगल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनपायी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुङ्गी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएका उल्लेख छ ।

डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन नगरिए पनि अधिकांश यी जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएको बताइएको छ ।

प्रतिवेदन लेखकमध्येका एक क्रिस डिकम्यानले आगोबाट जोगिन अन्यत्र गए पनि यी जनावरका लागि उपयुक्त आहारा, बस्ने ठाउँ र अन्य जनावरको आक्रमणबाट जोगिने अवस्था नदेखिएको बताउनुभयो ।

सन् २०१९ को अन्त्य तथा सन् २०२० को शुरुआती महिनामा अस्ट्रेलियाका जंगलहरुमा लामो सुख्खाका कारण भिषण आगलागी भएको थियो । आगलागीबाट करिब एक लाख १५ हजार वर्ग किलोमिटरको वनक्षेत्र ध्वस्त भएको थियो ।

डढेलोका कारण ३० जनाभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै जंगल आसपासका हजारौं घर डढेका थिए ।

अस्ट्रेलियाको आधुनिक इतिहासमै यति लामो र व्यापक डढेलो पहिलो पटक देखिएको थियो । वैज्ञानिकहरुले जलवायू परिवर्तनको असरका कारण सुख्खा र डढेलोको समस्या देखिएको बताउँदै आएका छन् ।

जनवरीमा सार्वजनिक गरिएको अर्को एक अध्ययनमा सर्वाधिक प्रभाव परेका पूर्वी राज्यहरु न्यू साउथ वेल्स र भिक्टोरियामा एक अर्ब हाराहारीमा जीवजन्तु मरेको उल्लेख थियो । तर मंगलबार सार्वजनिक सर्भे प्रतिवेदनमा सिंगो अस्ट्रेलिया महादेशको अवस्था विश्लेषण गरिएको सिड्नी विश्वविद्यालयका मुख्य वैज्ञानिक लिली भान एडेनले बताउनुभयो ।

सर्भेका नतिजाहरुलाई अझै पनि विश्लेषण गर्नेक्रम जारी छ । प्रतिवेदनको अन्तिम नतिजा अर्को महिनाको अन्त्यतिर सार्वजनिक गर्ने योजना रहेको छ । तर मृत्यु भएका जीवजन्तुको संख्या फेरबदल नहुने अध्ययन टोलीले जनाएको छ ।

प्रतिवेदन तयारीको जिम्मेवारी लिएको वल्र्ड वाइड फन्डका अस्ट्रेलियाली शाखाका प्मुख डर्मोट ओ–गोर्मानले प्रतिवेदनका प्रारम्भिक नतिजाहरु निकै डरलाग्दो रहेको बताउनुभयो । “यसलाई अस्ट्रेलियाको आधुनिक इतिहासमा सर्वाधिक खराब विपदको रुपमा लिन सकिन्छ ।”

अस्ट्रेलियामा निकै लोकप्रिय कोआलाको विभत्स अवस्थाले अन्तर्राष्ट्रिय संचार माध्यमको समेत ध्यानाकर्षण भएको थियो । रुखका पातपतिङ्गर खाएर जीवन निर्वाह गर्ने हजारौं कोआला डढेलोमा परेर मरेका थिए ।

तर सरकारले यसै वर्षको शुरुमा सार्वजनिक गरेको प्रतिवेदनले १०० अरु रैथाने प्रजातिका जीवजन्तुका आधाभन्दा बढी वासस्थान समाप्त भउको औंल्याएको थियो । यस प्रतिवेदनले डढेकाका कारण भएको क्षति अरु डरलाग्दो रहेको जनाएको छ ।

वैज्ञानिकहरुका भनाईमा विश्वव्यापी तापक्रम वृद्धिले अस्ट्रेलियाको बर्खायाम लम्बिदै गएको छ र यो हरेक वर्ष अझ डरलाग्दो बन्दै गएको छ । छोटो अवधिको हिउँदयाममा हुने डढेलो नियन्त्रणमा अझ बढी कठिनाई हुन्छ ।

मंगलबार सार्वजनिक प्रतिवेदन सिड्नी विश्वविद्यालय, न्यू साउथ वेल्स विश्वविद्यालय, न्यूक्यासल विश्वविद्यालय, चाल्र्स स्टर्ट विश्वविद्यालय र बर्डलाइफ अस्ट्रेलियाद्वारा संयुक्त रुपमा तयार पारिएको हो । एएफपी

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु