काठमाडौ । त्रिवि कानून संकाय अन्तरगत सञ्चालित तीन वर्षे स्नातक तह (एल.एल.बी.) प्रथम वर्षको परीक्षामा पाँच प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको पाइएको छ ।

एल.एल.बी. २०७४ ब्याचको २०७५ सालमा प्रथम वर्षमा भर्ना भएका १४ हजार ८ सय ९८ विद्यार्थीहरुमध्ये १३ हजार १ सय ३७ विद्यार्थी गत वर्ष आषाढ र श्रावण महिनामा सञ्चालित परीक्षामा सहभागी भएका थिए । सो परीक्षाको गत श्रावण १६ गते प्रकाशित नतिजामा ७ सय २४ जना विद्यार्थीले मात्र नियमिततर्फ उत्तीर्ण गर्न सफल भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

जुन नतिजा कुल परीक्षामा सामेल विद्यार्थी संख्याको ५ दशमलब ५१ प्रतिशत हुन आउँछ । कुल परीक्षार्थीमध्ये १ हजार ७ सय ६१ विद्यार्थी अर्थात ११ दशमलव ८२ प्रतिशत अनुपस्थित रहेका थिए भने ८८ दशमलब १८ प्रतिशत विद्यार्थीहरु परीक्षामा सामेल भएका थिए ।

सबैभन्दा बढी १० हजार २ सय ४० विद्यार्थीहरु नेपाल ल क्याम्पस, काठमाडौमा भर्ना भएका थिए । जसमा ९ हजार १३ जनाले मात्र परीक्षामा सहभागिता जनाएकोमा ६ सय ५ जना मात्र उत्तीर्ण हुन सफल भएका छन् ।

यस्तैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजमा भर्ना भएका १ हजार १ सय ४९ विद्यार्थीमध्ये १ हजार २ जनाले परीक्षा दिएकोमा ४ जना मात्र उत्तीर्ण भएका छन् । त्यसैगरी महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट १ हजार १ सय २८ जना विद्यार्थीमध्ये १ हजार १४ जना परीक्षामा सहभागी भएकोमा १० जनाले मात्र परीक्षा उत्तीर्ण गरेका छन् ।

त्यस्तै १ हजार १८ जना विद्यार्थी भर्ना भएको महेन्द्र बहुमुखी क्याम्पस, धरानमा ८ सय ९० जनाले परीक्षामा सहभागिता जनाउँदा १७ जनाले मात्र उत्तीर्ण गरेको पाइएको छ । उता बुटवल बहुमुखी क्याम्पसमा भर्ना भएका ५ सय ७९ विद्यार्थीमध्ये परीक्षामा ५ सय १८ जना मात्र सामेल रहेका थिए भने नतिजामा २२ जना मात्र उत्तीर्ण भएका छन् ।

त्यस्तै पृथ्वीनारायण क्याम्पस, पोखरामा भर्ना भएका कुल ५ सय ७४ जनामध्ये ५ सय ३ जनाले परीक्षा दिएकोमा ४९ जना पास भएका छन् । उता एकमात्र सम्बन्धनप्राप्त क्याम्पस वीरगञ्जको हरिखेताङ सामुदायिक क्याम्पसबाट २१० जना विद्यार्थी भर्ना भएकोमा १९७ जनाले परीक्षा दिएका थिए भने १७ जना मात्र उत्तीर्ण हुन पुगेका छन् ।

विद्यार्थी भर्नाका लागि कोटा निर्धारण गर्ने कि इच्छुक सबैले पढ्न पाउने भन्ने मुल विषयमा त्रिवि र विद्यार्थीहरुबीचको विवादका कारण एल.एल.बी. प्रथम वर्षको भर्ना कार्यक्रम २०७५ सालदेखि यता हुन सकेको छैन भने पटक पटक मिति घोषणा हुँदै भर्नाका लागि लिइने प्रवेश परीक्षा स्थगित हुँदै आएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु