उमाकान्त खनाल, बीबीसी न्यूज नेपाली, झापा । हिन्दू धर्मावलम्बीले विष्णुको अवतार मान्ने भगवान् रामको जन्मस्थल मानिएको अयोध्यामा बुधवार राम मन्दिर निर्माण गर्न भूमिपूजन तथा शिलान्यास सम्पन्न भयो। केही सय वर्षदेखि मस्जिद भएको उक्त स्थानमा राम मन्दिर बनाउने विषय वर्षौँदेखि विवादमा थियो। गत वर्ष भारतको सर्वोच्च अदालतको निर्णयपछि अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक विधिपूर्वक मन्दिर निर्माणको काम आरम्भ गरेका हुन्। विभिन्न कारणले नेपाल र भारतबीच कटुता उत्पन्न भएको बेला मोदी नै प्रमुख कर्ता भएको उक्त धार्मिक समारोहमा नेपालसम्बन्धी तीनवटा रोचक कुरा देखियो।

 

 

१. मोदीले गरे नेपाल र रामको सम्बन्धको चर्चा
कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् रामलाई विभिन्न देशमा पूजा गरिने सन्दर्भ बताए। त्यही प्रसङ्गमा उनले रामको नेपालसँग विशेष सम्बन्ध भएको स्मरण गरे। उनले भने, “नेपालसँग त भगवान् श्रीरामको सम्बन्ध माता जानकीसँग जोडिएको छ।” कालापानी क्षेत्रको स्वामित्वबारे नेपाल र भारतबीच विवाद उत्पन्न भएकै बेला गत महिना नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामको वास्तविक जन्मभूमि नेपालको ठोरीमा रहेको टिप्पणी गरेपछि अर्को विवाद सिर्जना भएको थियो। मोदीले अहिले अयोध्यामा दिएको यो अभिव्यक्तिलाई सम्बन्ध सुधारका लागि अर्थपूर्ण मान्न सकिने केही विश्लेषकहरूको भनाइ छ।

२. मोदीलाई पूजा गराउने पुरोहित नेपाली नागरिक
मोदी
बुधवार उक्त कार्यक्रममा मोदी सँगसँगै देखिएका अर्का व्यक्ति संयोगवश नेपाली नागरिक हुन्। झापाका दुर्गाप्रसाद गौतमले पुरोहितका रूपमा मोदीलाई भूमिपूजन गराएका थिए। उनी बाहुनडाँगीका स्थायी बासिन्दा हुन्। नेपालमा प्राथमिक शिक्षा लिएर अध्ययनका लागि आफू भारत गएको उनी बताउँछन्। बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरेका उनी अहिले अयोध्यास्थित एउटा वेद विद्याश्रममा पढाउँछन्।

 

नेपाली भएर पनि "अयोध्याको गौरवपूर्ण कार्यक्रममा महत्त्वपूर्ण भूमिका" निर्वाह गर्न पाउँदा आफूलाई गौरव अनुभूति भएको उनले बीबीसीलाई बताए। उनले भने, “म नेपालको छोरा हुँ। नेपाल र भारतको सम्बन्ध धेरै राम्रो छ।” ओलीले गरेको टिप्पणीपछि विवाद सिर्जना भएको विषयलाई इङ्गित गर्दै उनले भने, “तर कुनै बेला राजनीतिक व्यक्तिहरूले व्यक्त गरेका कुराले चाहिँ केही समस्या ल्याउँदो रहेछ।” संस्कृत व्याकरणमा आचार्य गरेका गौतम अहिले विद्यावारिधिको तयारीमा रहेको बताउँछन्।

 

३. जनकपुरको माटो, जल र चाँदीका ईँटा
राम मन्दिर निर्माणका लागि आयोजित कार्यक्रममा नेपालबाट औपचारिक रूपमा कोही पनि उपस्थित थिएनन्। आयोजकहरूले काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरबाट पनि जल आउने अपेक्षा गरेकोमा कारणवश त्यो सम्भव नभएको बताइन्छ। तर जनकपुरधामबाट जानकी मन्दिरका महन्त महन्त रामतपेश्वर दास उक्त कार्यममा सहभागी भए। महन्तले सीताको माइती मानिने जनकपुरबाट राम मन्दिरका लागि माटो, जल र पाँचवटा चाँदीका ईँटा लगेका थिए। "माटो र जलको पूजा भयो, तर चाँदीका ईँटाको पूजा भने गर्न मिलेन," उक्त कार्यक्रममा पुरोहितका रूपमा सहभागी गौतमले भने।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=B1nqMLRUYbY&feature=youtu.be

सम्बन्धित खबरहरु